नयाँ धितोपत्र बाँडफाँड निर्देशिका लागू

काठमाडौं, (नेस) । नेपाल धितोपत्र बोर्डले धितोपत्र बाँडफाँट सम्बन्धी निर्देशिका, २०६८ जारी गरी धितोपत्रको समानुपातिक बाँडफाँट प्रणाली लागू गरेको छ । शेयर बाँडफाँट सम्बन्धी निर्देशिका, २०५१ खारेज गरी बोर्डले सो नयाँ निर्देशिका लागू गरेको हो । हाल धितोपत्र बजारमा धितोपत्रको सार्वजनिक निष्काशन हुँदा एकै व्यक्तिले धेरै जनाको नामबाट खरीद आवेदन दिने गरेको र यसबाट वास्तविक लगानीकर्ताहरुले शेयर प्राप्त गर्ने अवसरबाट बन्चित हुनु परेको भन्ने गुनासाहरु सुनिने गरेका थिए । बोर्डले अब समानुपातिक आधारमा धितोपत्र बाँडफाँट गर्नुपर्ने व्यवस्था लागू गरेकोले यसबाट धितोपत्र खरीद गर्न आवेदन दिने सवै लगानीकर्ताहरुले समानुपातिक आधारमा धितोपत्र प्राप्त गर्नेछन् । समानुपातिक बाँडफाँट प्रणालीमा साना साना रकममा धेरै संख्यामा आवेदन दिएपनि वा एकमुष्ट रकममा एकै आवेदन दिएपनि प्राप्त हुने शेयर उति नै हुने भएकोले आवेदन संख्या बढाउने प्रवृत्ति निरुत्साहित हुने बोर्डको दाबी छ । नयाँ निर्देशिकाबाट धितोपत्र खरीद आवेदन संख्यामा कमी आई निष्काशनकर्ता कम्पनीको लागि धितोपत्र बाँडफाँट लागतमा समेत कमी ल्याउन सहयोग पुग्ने र बाँडफाँट गर्ने समयावधिमा पनि कमी आउने छ ।

निर्देशिकाले समानुपातिक रुपमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्थाका साथै साना लगानीकर्ताहरुलाई विशेष प्राथमिकता दिई निष्काशन गरिने कूल धितोपत्रको ४० प्रतिशत धितोपत्र साना लगानीकर्ताहरु (व्यक्तिगत लगानीकर्ताहरु मात्र) का लागि छुट्टयाउनुपर्ने व्यवस्थासमेत गरेको छ । उक्त निर्देशिकाले पचास हजार रुपैयाँसम्मको लगानी गर्ने लगानीकर्तालाई साना लगानीकर्ताको रुपमा परिभाषित गरेको छ ।

One Response

  1. Okay Babu ji Thanks for the info. Still this process is not going to stop from mass investments.

Leave a comment