साढे ६ महिनामा थप ३ सय १९ कालोसूचीमा

-बाबुकृष्ण महर्जन

काठमाडौं, २४ माघ ।

चालु आर्थिक वर्षको माघ २२ गतेसम्म कर्जा सूचना केन्द्रको कालो सूचना थप ३ सय १९ जनाको नाम थपिएको छ । औद्योगिक क्षेत्रमा व्याप्त निराशा, सेयर बजार एवं रियल स्टेट क्षेत्रमा छाएको मन्दीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर तिर्न नसक्नेको संख्यामा वृद्धि भएको हो । विशेषगरी पछिल्लो समयमा सेयर बजार र घरजग्गामा लगानी गरेका लगानीकर्ताको नामावली कर्जा सूचना केन्द्रका कालो सूचीमा चढेको छ ।

बैंकको बढ्दो ब्याजदरका कारण समयमा कर्जा तिर्न नसकेका त्यस्ता ऋणीले बताएका छन् । घर–जग्गा र सेयर बजार दुवैमा अपेक्षित सुधार नआएकाले आगामी दिनमा यो क्रम अझ बढ्ने पक्का छ । गत आथिर्क वर्षभर यस्ता एक सय ६४ जना मात्र कालो सूचीका ऋणी बढेका थिए ।
पछिल्लो समयमा विशेष गरी घरजग्गा व्यवसायी कालो सूचीमा चढ्नेहरूमा सेयर बजारका लगानीकर्ता एवं पूर्वनेपाल इन्भेस्टमेन्टर्स फोरमका अध्यक्ष सुनन्दबहादुर श्रेष्ठ, फोरममै आबद्ध मनासलु इन्भेस्टमेन्टको दीपकनरसिंह श्रेष्ठ, नबिल बैंकका पूर्वअध्यक्ष एवं पूर्वगभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ, एनबी समूह आबद्ध व्यवसायीहरू जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, गाडी खरिदबिक्रीमा लागेको तेज एन्ड करण इन्टरप्राइजेजका सरोजकुमार विश्वकर्मा एवं घरजग्गा व्यवसायी तथा अग्नि एयरका सञ्चालक सुधिर बस्नेत छन् । कालो सूचीमा केही चर्चित व्यवसायीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रराज ढकाल, एभ्को इन्भरनेसनलका विनीता प्रधान, माउन्ट एभरेस्ट ब्रुअरीका पीयूषबहादुर अमात्य रहेका छन् ।
दसवर्षे माओवादी द्वन्द्व र त्यसपछिको राजनीतिक संक्रमणकालको स्पष्ट प्रभाव मुलुकको अर्थतन्त्रमा परेको अर्थविद्हरूले विश्लेषण गरेका छन् । यसैको फलस्वरूप बैंक तथा वित्तीय संस्थाले ऋण भुक्तानीको म्याद गुज्रेपछि तीनपुस्ते विवरणसहित तिर्न आउन सार्वजनिक सूचना प्रकाशन गर्ने क्रम पनि बढेको छ । ऋणीहरू बैंकको सम्पर्कभन्दा बाहिर रहेपछि बैंकले ऋणीको तीनपुस्ते नामावलीसहित दैनिक पत्रिकाहरूमा कर्जा चुक्ता गर्न आउन सूचना प्रकाशित गर्दछन् । यस्ता सूचना प्रकाशित गरेको ३५ दिनभित्र पनि ऋण तिर्न सम्पर्कमा नआए सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कालो सूचीमा नाम प्रकाशित गर्न कर्जा सूचना केन्द्रलाई अनुरोध गर्छन् । कालो सूचीमा नाम प्रकाशित हुने व्यक्तिको राहदानी जफत गरिनुका साथै कुनै पनि बैंक तथा वित्तीय संस्था एवं अन्य कम्पनीको सञ्चालक समितिमा सञ्चालक हुनसमेत अयोग्य ठहरिन्छ । सूचना केन्द्रको विवरणअनुसार ०४६ सालदेखि चालु आवको माघ २२ गतेसम्म यो सूचीमा पर्ने दुई हजार ७ सय ९२ ऋणी छन् । यो संख्या प्रत्येक वर्ष थपघट भइरहन्छ ।
आर्थिक क्रियाकलापमा आएको शिथिलता, तरलता अभाव, बढ्दो महँगीले आर्थिक क्षेत्रमा समस्या देखिएको हो । कालो सूचीमा नाम
बढ्नुको अर्को कारण साना खराब ऋणीलाई समेत कालो सूचीमा समेटिनु पछिल्ला समय कालो सूची लम्बिनुको प्रमुख कारण रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । २५ लाख रुपियाँभन्दा बढीको ऋण नतिर्नेलाई मात्र यसअघि कालो सूचीमा राख्ने गरिएको थियो । अहिले सोभन्दा कम रकमलाई पनि यसमा समेटिएकाले कालो सूची लम्बिएको केन्द्रका एक अधिकारीले बताए ।
पछिल्लो समय एयरलाइन्स कम्पनीदेखि गार्मेन्ट व्यवसायी, आयातकर्ता हुँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसमेत कालो सूचीमा समेटिएका छन् ‘दुई तीन वर्षअघिसम्म ८ प्रतिशतमा लिएको ऋण तरलता अभाव भएको बेला बढेर १८ प्रतिशतसम्म पुग्यो । यसबाट कर्जा तिर्न नसक्नेको सूची झन् बढेको छ । ‘बैंकहरूले तरलता सहज भए पनि पुरानो ऋणको ब्याज अझै घटाइसकेको छैन,’ कालो सूचीमा नाम चढेका एक ऋणीले बताए ।
पछिल्लो समय बैंकको निष्क्रिय कर्जामा वृद्धिसँगै कालो सूची पनि लम्बिएको हो । चालु आवको पहिलो तीन महिनामा निष्क्रिय कर्जा अनुपात ३ दशमलव १५ प्रतिशत पुगेको छ । दुई अर्ब ९३ करोड रुपियाँले यो रकम बढेर १५ अर्ब १५ करोड रुपियाँ पुगेको छ । गत आवबाट बढ्न थालेको निष्क्रिय कर्जा तीन महिनामा शून्य दशमलव ६१ प्रतिशतले बढेको हो । गत आवको अन्तिम त्रैमासिकमा यो २ दशमलव ५४ प्रतिशत थियो । खराब कर्जामा वृद्धिसँगै बैंकको कर्जा जोखिमबापतको रकम पनि बढेको छ जसले गर्दा बैंकको खुद मुनाफामा प्रतिकूल असर पर्छ । यस्तो हुनुमा सेयर बजार र घरजग्गाजस्ता लगानीका दुवै क्षेत्रमा आएको गिरावटले सहयोग गरेको बताइन्छ । घरजग्गा कारोबार पछिल्लोपटक शिथिल अवस्थामा छ । कारोबार न्यून भएपछि लिएको कर्जा भुक्तानी गर्न समस्या भइरहेको घर–जग्गा व्यवसायी बताउँछन् । चालु आवको बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा पनि धमाधम खराब कर्जा बढ्दै गएको देखाएको छ ।

Leave a comment