बोनस दिँदै पुँजी बढाउँदै बिमा कम्पनी

-बाबुकृष्ण महर्जन
काठमाडौं, ४ माघ

बिमा कम्पनीले धमाधम बोनस र हकप्रद सेयर वितरण गरेर चुक्ता पँुजी बढाउने तयारी गरेका छन् । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले अनिवार्य रूपमा पुँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरूलाई चुक्ता पँुजी वृद्धि गर्न दबाब बढेको हो ।logo-300x160

समितिले दिएको निर्देशनअनुसार ०७० असारसम्म निर्जीवन बिमा कम्पनीले २५ करोड र जीवन बिमा कम्पनीले ५० करोड रुपियाँ चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ । हाल सञ्चालनमा रहेका सबै बिमा कम्पनीको चुक्ता पुँजी योभन्दा निकै कम छ । पुँजी आधार बलियो नहुँदा बिमा कम्पनीले ठूलो व्यवसायका क्षेत्रमा हात हाल्न सकेका छैनन् । दीर्घकालीन व्यवसाय भएको हुँदा पँुजी आधार बलियो बनाउन बिमा समितिले बिमा कम्पनीलाई दबाब दिँदै आएको छ । समितिले बोनस सेयर, हकप्रद सेयर वा एक आपसमा मर्ज गरेर भए पनि चुक्ता पुँजी तोकेको सीमाभित्र तोकेको परिमाणमा पुर्‍याउन निर्देशन दिएको छ ।
समितिको निर्देशनपछि अधिकांश बिमा कम्पनीले बोनस सेयर दिएर चुक्ता पुँजी वृद्धि गरिरहेका छन् । एसियन लाइफ इन्स्योरेन्सको हालै सम्पन्न सञ्चालक समिति बैठकले ८ दशमलव २९७ प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर जारी गरेपछि कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष पनि २७ प्रतिशत बोनस सेयर जारी गरेको थियो । कम्पनीको चुक्ता पुँजी अहिले ३६ करोड रुपियाँ छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा दुई करोड ३३ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीले बिमा समितिले चुक्ता पुँजी बढाउन निर्देशन दिँदा दिँदै पनि नगद लाभांश दिने प्रस्ताव गरेकाले केही समयका लागि बिमासम्बन्धी कारोबारमा नै रोक लगाएको थियो । वितरण गरिसकेको लाभांश फिर्ता लिएपछि मात्र बिमा समितिले एसियन लाइफलाई पुन: कारोबार गर्न अनुमति दिएको थियो ।
त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सले पनि बोनस सेयर दिएर नै चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । हालै सम्पन्न कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई साढे ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बिमा समितिको स्वीकृति र साधरणसभाको अनुमतिमा मात्र वितरण हुनेछ । गुराँस लाइफको ३६ करोड रुपियाँको चुक्ता पुँजी छ । साढे छ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपियाँको हाराहारीमा पुग्नेछ । त्यसपछि बिमा समितिले तोकेको ५० करोड रुपियाँको चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने प्रस्ताव कम्पनीले गरेको छ । बोनस सेयर वितरण गरेर हकप्रद सेयर जारी गर्ने सूचना सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ । प्रतिकित्ता एक सय ५७ रुपियाँमा कारोबार हुँदै आएको कम्पनीको सेयर आइतबार र मंगलबार ६/६ रुपियाँले घटेर एक सय ४५ रुपियाँमा कारोबार भयो ।
त्यस्तै भारतीय जीवन बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको संयुक्त लगानीमा स्थापित जीवन बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको हालै सम्पन्न साधारणसभाले ६२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेका छ । २५ करोड रुपियाँ चुक्ता पुँजी रहेको उक्त कम्पनीले गत आवमा १७ करोड १७ लाख ७४ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ५० लाख रुपियाँ पुग्नेछ । कम्पनीले बोनस सेयरको कर चुक्ता प्रयोजनका लागि ३ दशमलव २६ प्रतिशत नगद लाभांशसमेत घोषणा गरेको छ । कम्पनीले पनि बोनस सेयरपछि २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्ब रुपियाँ पुर्‍याउनुपर्ने व्यवस्था गरेपछि अहिले अधिकांशको चुक्ता पुँजी यो परिमाणमा पुग्नै लागेको छ । सञ्चालनमा रहेका अधिकांश बैंक र बिमा कम्पनीका लगानीकर्ता एउटै छन् भने अधिकांशले आफ्नो लगानी बैंकमा थपिसकेकाले बिमा कम्पनीको चुक्ता पुँजी बढाउन थप लगानी गर्ने स्थितिमा लगानीकर्ता देखिएका छैनन् । यसकारण आफूले आर्जन गरेको लाभांशबापत नगद लाभांश नलिएर बोनस सेयर जारी गरेर पँुजी बढाउने कसरतमा अधिकांश बिमा कम्पनी लागेका छन् । बोनस सेयर दिन असमर्थ केही बिमा कम्पनी एक आपसमा मर्ज हुने तयारीमा समेत जुटेका छन् ।
बिमा समितिले पाँच वर्षभित्र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब र जीवन बिमा कम्पनीको दुई अर्ब रुपियाँ पुर्‍याउने लक्ष्य लिएको छ । हाल आठवटा जीवन बिमा कम्पनी, १६ वटा निर्जीवन बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले जीवन तथा निर्जीवन बिमा दुवैको कारोबार गर्दै आएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: