करदातालाई चार समूहमा वर्गीकरण गरिँदै

-बाबुकृष्ण महर्जन
काठमाडौं, १६ पुस

आन्तरिक राजस्व विभागले करदातालाई ठूला, मध्यम, साना र सूक्ष्म गरी चार समूहमा वर्गीकरण गर्ने गृहकार्य सुरु गरेको छ । सानो कारोबारलाई पनि करको दायरामा समावेश गर्ने अभिप्रायले विभागले सो प्रक्रिया अगाडि बढाएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) विश्व बैंकलगायत विदेशी प्रतिनिधिसँग करदातालाई चार समूहमा विभाजन गर्ने विषयमा छलफल भए पनि कार्यान्वयनमा आउन भने अझै केही समय लाग्ने विभागका महानिर्देशक टंकमणि शर्माले बताए । विभागका अनुसार अहिलेको तीन तहको करदाता विभाजन सूक्ष्म करदातालाई समेत प्रभावकारी नभएपछि सूक्ष्म करदातालाई समेत समेट्न करदाता वर्गीकरणमा लागेको हो । विभागको तीन वर्षीय करसुधार योजना र पाँच वर्षीय रणनीतिक योजनामा टेकेर चार समूहमा करदाता वर्गीकरण गर्ने प्रक्रियामा लागेको हो ।
विभागको योजनामुताबिक वार्षिक ४० करोड रुपियाँ बढी कारोबार गर्ने कम्पनी ठूला करदाताको सूचीमा पर्नेछन् भने वार्षिक २० लाखभन्दा कमको कारोबार गर्ने करदाता सूक्ष्म करदातामा पर्नेछन् । विभागले मध्यम र साना करदाताको न्यूनतम र अधिकतम तह भने अझै तोकिनसकेको बताएको छ । विभाग अधिकारीका अनुसार विदेशी दाताबाट रकमको जोहो गर्न सकिएमा चालु आर्थिक वर्षबाटै योजना कार्यान्वयनमा आउनेछ । महानिर्देशक शर्माले आगामी हप्ता दातृ निकायसँग बैठक रहेको जानकारी दिए ।
हाल मुलुकका आठ लाख करदातामध्ये पाँच सय सात ठूला करदाता रहेका छन् । त्यसमध्ये ६ लाखभन्दा बढी साना करदाता रहेका छन् । प्रस्तावित नयाँ प्रावधानअनुसार महानगरपालिकामा रहेका साना करदाताले वार्षिक ३५ सय रुपियाँ कर तिर्नुपर्नेछ भने नगरपालिकाभित्र रहेका करदाताल २५ सय रुपियाँ र गाविसमा रहेका करदाताले भने वार्षिक १२ सय ५० रुपियाँ बुझाउनुपर्न प्रस्ताव गरिएको छ ।
‘नयाँ करदाता विभाजनबाट ठूला करदाताको रक्षा र नियन्त्रण गर्ने अपेक्षा गरिनुका साथै बढीभन्दा बढी सूक्ष्म करदाता करको दायरामा आउने अपेक्षा गरिएको छ,’ महानिर्देशक शर्माले भने । उनले नयाँ प्रणालीबाट करप्रशासन अझ प्रभवकारी बन्नुका साथै बढीभन्दा बढी जनता करको दायरामा आउने दाबी गरे । नयाँ प्रणालीमा अनौचापरिक अर्थतन्त्रमा रहेका सम्भावित करदाता अझ थपिने विभाग अधिकारीले बताए ।
महानिर्देशक शर्माले जनवरीको पहिलो साता अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रतिनिधि काठमाडौं आउने र प्रस्तावित नयाँ प्रणालीको कार्यान्वयनका सम्बन्धमा काम अघि बढ्ने उनले बताए । सरकारले चालु आर्थिक वर्षलाई करसुधार वर्षका रूपमा मनाइरहेको छ । विभागले चालु आवमा करप्रशासनलाई सुधार गरेर कुल गार्हस्थ उत्पादनमा करराजस्वको योगदान १८ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आव ०७३/७४ सम्म आयकर कुल गार्हस्थ उत्पादनको ५ दशमलव ४६ र अन्त:शुल्क कुल गार्हस्थ उत्पादनको ३ दशमलव १७ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । त्यसैगरी देशको कर कार्यालयलाई पनि ठूला, मध्यम, साना र सूक्ष्म गरी चार समूहमा विभाजन गरी कार्यान्वयन गरिनेछ । अहिले ठूला करदाताको सुविधाको लागि ठूला करदाता कार्यालय मात्र स्थापना भएको छ भने अन्य दुई समूहका करदाता एउटै कार्यालयमा गएर रकम तिर्नुपर्ने बाध्यता छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: