लोटस फाइनान्सको सेयर बाँडफाँड अन्योलमा

-बाबुकृष्ण महर्जन

काठमाडौं, ५ मंसिर ।

लोटस फाइनान्सले गत २८ जेठबाट प्राथमिक निष्कासन गरेको सेयर पूरा बिक्री नभएपछि धितोपत्र बोर्ड अन्योलमा परेको छ । सेयर प्रत्याभूतिकर्ताको जिम्मेवारी लिएको सिभिल क्यापिटलले अन्डर–राइट गरेको सेयर मात्र खरिद गर्ने र बाँकी सेयर खरिद नभएपछि सेयर बाँडफाँडसमेत नभएर अन्योल बढेको हो ।

सिभिलले प्रत्याभूतिको व्यवस्थाअनुसार ५० प्रतिशत सेयर मात्र अन्डर–राइट गरेको थियो । फाइनान्सले आठ करोड रुपियाँको सेयर जारी गरेकोमा सर्वसाधारणबाट एक करोड १३ लाख रुपियाँ रकमको लागि आवेदन परेको थियो । यो कुल निष्कासनको १४ दशमलव १३ प्रतिशत हुन आउँछ । अन्डर–राइट गरेको सेयरसहित कुल ६४ दशमलव १३ प्रतिशत सेयर मात्र बिक्री भएर ३५ दशमलव ८७ प्रतिशत सेयर अझै बिक्री हुन बाँकी भएपछि हालसम्म सेयर बाँडफाँडको काम हुन सकेको छैन । धितोपत्र बोर्ड गठन भएर व्यवस्थित रूपमा सेयर निष्कासन प्रारम्भ भएको करिब १९ वर्षको अवधिमा पहिलोपटक नेपाल धितोपत्र बोर्डले यस्तो खालको समस्या भोग्नुपरेको बोर्डका निर्देशक निरज गिरीले बताए ।
धितोपत्र निष्कासन निर्देशिकाले सर्वसाधारणमा निष्कासन गरेको सेयर सबै बिक्री नभए सेयर प्रत्याभूतिकर्ताले ५० प्रतिशत सेयर सकार्नुपर्ने व्यवस्था छ । कतिपय निष्कासनमा एउटैले सेयर प्रत्याभूति गर्न नसक्ने भएमा एकभन्दा बढीले गर्ने गरेको पाइन्छ । सिभिलले फाइनान्सको सो निष्कासन प्रक्रिया नै रद्द गरेर सेयरमा आवेदन हालेका लगानीकर्तालाई रकम फिर्ता गर्ने अनुमति माग्दै गत ३१ साउनमा नेपाल धितोपत्र बोर्डमा पत्राचार गरेको थियो । फाइनान्सका संस्थापक सेयरहोल्डरले बाँकी हुने दुई करोड ८६ लाख रकमका सेयर खरिद नगरेकाले यो निर्णय गर्न परेको भन्दै सिभिलले बोर्डमा पत्राचार गरेको थियो । सिभिलले ५० प्रतिशत अर्थात् चार लाख कित्ताको सेयर सकारेर बिक्री भएको एक करोड १३ लाख रुपियााको सेयर लगानीकर्तालाई दिएपछि ३५ दशमलव ८६ प्रतिशत अर्थात् दुई करोड ८६ लाख रकम बाँकी रहन्छ । सेयर संस्थापक आफँैले किनेमा भने समस्या स्वत: समाधान हुन्छ ।
सो फाइनान्सले भने सेयरमा आवेदन हालेका लगानीकर्तालाई रकम फिर्ता गर्ने निर्णय सही नभएको बताउँदै बोर्डसँग पुस मसान्तभित्रमा बाँकी रकम पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । अन्योलता बढ्दै गएपछि बोर्डले नेपाल राष्ट्र बैंकसँग आवेदनको रकम फिर्ता गर्न हुने/नहुनेमा राय मागेकोमा पहिलोपटक फिर्ता गर्न उपयुक्त हुने राय दिएको भए पनि पछिल्लोपटक राय माग्दा भने सेयर निष्कासनको सम्पूर्ण क्षेत्र धितोपत्र बोर्डको दायरामा पर्ने हुँदा धितोपत्र बोर्डको ऐन/नियममा टेकेर गर्नुपर्ने राय दिएका थिए ।
अन्योलता बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले सञ्चालक समिति सदस्य एवं कानुन मन्त्रालयका प्रतिनिधि डिल्लीराज घिमिरेको संयोजकत्वमा रहेको कानुन प्रवलीकरण समितिसँग लोटस फाइनान्सको प्राथमिक सेयर निष्कासनको सम्बन्धमा के कस्तो कानुनी व्यवस्था रहेको एवम् भविष्यमा सोही प्रकृतिको समस्या दोहोरिएमा के गर्ने भन्ने विस्तृत जानकारी माग गरेको छ । समितिले बढीमा बुधबारसम्म बोर्डलाई स्पष्ट जानकारी दिएपछि मात्र बोर्डले ठोस निर्णय गर्ने निर्देशक गिरीले बताए ।
हालसम्म कुनै पनि सेयर प्राथमिक निष्कासन भइसकेपछि बाँडफाँड नगरी लगानीकर्तालाई रकम फिर्ता गरिएको उदाहरण छैन । हकप्रद सेयरको निष्कासन भने लगानीकर्तालाई रकम फिर्ता भएको उदाहरण छ । नेपाल विकास बैंकलाई समस्याग्रस्त घोषणा गरिएपछि बैंकले हकप्रद सेयर बाँडफाँड गर्न बाँकी रहेकाले सो रकम लगानीकर्तालाई फिर्ता गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: