शेयर बजार बुलिस ट्रेन्डमा/१६ महिनामा १ सय ९० अंक बढ्यो

-बाबुकृष्ण महर्जन

काठमाडौं, २४ कात्तिक । करिब साढे १६ महिनाको अवधिमा नेपालको सेयर बजार एक सय ९० विन्दुले बढेको छ । गत वर्षको असार १ गते सबैभन्दा न्यून दुई सय ९२ दशमलव ३१ विन्दुमा पुगेको सेयर बजार यस अवधिमा एक सय ९० विन्दुले बढेर बिहीबार चर सय ८२ दशमलव ५ विन्दुमा पुगेको छ । बिहीबार अघिल्लो दिनको तुलनामा ७ दशमलव ३५ विन्दुले सो विन्दुमा पुगेको हो ।
केही महिनादेखि नेपालको सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलताका कारण सुलभ दरमा कर्जा प्रदान गर्न थालेपछि सेयर बजार बढ्न सहयोग पुगेको सेयर विश्लेषक रवीन्द्र भट्टराईले बताए । ‘बजारमा लगानीको अवसर उपलब्ध छैन । पैसा भएमा लगानी गर्ने एक मात्रै माध्यम सेयर बजार नै भएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदरभन्दा बैंकको सेयरले दिने प्रतिफल बढी हुन पुगेको छ । यसकारण लगानीकर्ता सेयर बजारतिर आकर्षित भएका छन्,’ उनले भने ।
सेयर बजारको वृद्धिसँगै बजार पुँजीकरण र दैनिक कारोबारमा पनि वृद्धि भएको छ । बिहीबार समग्र बजार पुँजीकरण चार खर्ब ५६ अर्ब ८३ करोड ८२ लाख ८० हजार रुपियाँ पुगेको छ । बजार उच्च विन्दुमा पुगेको बेला सेयर बजार पुँजीकरण ६ खर्ब १२ अर्ब ५४ करोड रुपियाँको हाराहारीमा पुगेको थियो भने सेयर बजार न्यून विन्दुमा पुगेको बेला दुई खर्ब ६० अर्ब १६ करोड रुपियाँ मात्र बजार पुँजीकरण पुगेको थियो । बिहीबार मात्र १५ करोड रुपियाँको सेयर कारोबार भएको थियो ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष सीताराम थपलियले ऋणको व्याजदर सस्तो हुनु, सेयर खरिद ऋण सहज रूपमा उपलब्ध हुनु एवं बजारमा संस्थागत लगानीकर्ताको प्रवेश हुनु बजार बढ्नुको प्रमुख कारण रहेको बताए । ‘कर्जामा व्याजदर घटेको छ । ब्रोकरको सिफारिसमा पनि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा दिन थालेका छन्,’ उनले भने, ‘यसले पनि बजार बढ्न सहयोग पुगेको हो ।’ पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले क्रस होल्डिङ नहुने गरी हाइड्रोपावर, इन्स्योरेन्स र टेलिकमको सेयर किनिरहेका छन् भने इन्स्योरेन्स कम्पनीले धमाधम बैंक तथा वित्तीय संस्थाको सेयर किनिरहेका छन् । ‘अघोषित रूपमा बजारमा संस्थागत लगानीकर्ताका रूपमा काम गर्न थालेकाले बजार बढ्न गएको हो,’ उनले अगाडि भने, ‘सहमतीय सरकार बनेमा सेयर बजार बढ्ने अनुमानका आधारमा पनि लगानीकर्ताले अहिले धमाधम सेयर किनिरहेका हुन् ।’ उनका अनुसार अहिले लगानीकर्ताको सेयर बजारप्रतिको आत्मविश्वास फर्केकाले बजार उकालो लागिरहेको हो । दूरसञ्चार कम्पनी, कृषि विकास बैंकलगायत सेयरमा हुने परिवर्तनले पनि सेयर बजारलाई धेरै असर गर्छ ।
बैंकमा तरलता बढे पनि पहिलाजस्ता घरजग्गामा व्यावसायिक रूपमा लगानी बढाएका छैनन् । आवासीय घरकर्जाको लागि मात्र बैंकहरूको दौडधुप छ । ठूलो लगानी सेयर बजारमै गरिरहेको लगानीकर्ता भट्टराईले बताए । ‘बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमासिक वित्तीय विवरणमा नाफा अत्यधिक बढेको देखिएको छ । अत्यधिक कम्पनी रहेको बैंक तथा वित्तीय संस्थाको प्रदर्शन राम्रो हुँदै जानु एवं ब्याजदर घट्दै जानुले सेयर बजारमा लगानी गर्न प्रोत्साहित गरेको हो,’ उनले भने । बजारमा ऋणको ब्याज सस्तो हुन थालेपछि ऋणमा सर्वसाधारणको पहुँच बढेका कारण बजार बढेको उनले बताए ।

Leave a comment