एनबी इन्स्योरेन्सको कारबाही फुकुवा

-बाबुकृष्ण महर्जन

काठमाडौं, २१ असोज ।

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले एनबी इन्स्योरेन्सलाई लगाएको कारोबार रोक्कालाई फुकुवा गरेको छ । कम्पनीमा स्थलगत निरीक्षणको क्रममा आर्थिक अनियमितता भेटेपछि सबै कारोबारमा रोक लगाएको थियो । पाँच गम्भीर आरोपसहित सुधारको निर्देशन दिएको समितिले चारवटामा सुधार भएको भेटिएपछि कारबाही फुकुवा गरेको हो । दायित्व भुक्तानी गर्न सक्ने रकम
(एयरमार्क) कम्पनीले अझै पूरा गरेको छैन । कम्पनीले मापदण्ड नपुगेको वित्तीय संस्थामा राखेको पैसा अझै फिर्ता नगरे पनि मुद्दती खातामा राखेकाले केही समय लाग्ने चित्तबुझ्दो जवाफ दिएकाले कारोबार फुकुवा गरिएको समितिका एक उच्च अधिकारीले बताए । यो रकम फिर्ता नभएसम्म कम्पनीले एयरमार्क पूरा गर्न सक्दैन ।
कम्पनीले नियमविपरीत घरभाडामा लिएर पहिल्यै भुक्तानी गरेको, एयर मार्क पूरा नगरेको, मापदण्ड पूरा नगरेका संस्थाहरूमा रकम जम्मा गरेको, सञ्चालकलाई असीमित किसिमले पेस्की दिई फिर्ता नगरेको भन्दै गत ६ साउनमा सम्पूर्ण कारोबारमा रोक लगाइएको थियो । कम्पनीले मापदण्ड नपुगेको संस्थामा राखेको करिब डेढ करोड रुपियाँ केही महिनाभित्र फिर्ता ल्याउने सर्तमा समितिले कारबाही फुकुवा गरेको हो ।
१० करोड रुपियाँ चुक्तापुँजी रहेको कम्पनीका सञ्चालकहरूले घरभाडा लिँदा नियमविपरीत ३ करोड रुपियाँभन्दा बढी लिएको तथ्य समितिले फेला पारेको थियो । सञ्चालकलाई घरभाडाबापत अग्रिम रकम दिएको, एयरमार्क पूरा नगरेकोलगायत अनियमितता फेला परेकोले संस्था कारबाहीमा परेको थियो । कम्पनीमा एकै परिवारका जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र जेन श्रेष्ठ सञ्चालक समिति सदस्य छन् । समितिले जारी गरेको सुशासनसम्बन्धी नयाँ निर्देशिकाअनुसार एकै परिवारका एक जनाभन्दा बढी व्यक्ति बिमा कम्पनीमा सञ्चालक हुन पाउँदैन । स्रोतका अनुसार एनबी समूहको बहालवाला सञ्चालकले छाडेर नयाँ ल्याउने सर्तमा एनबीको कारबाही फुकुवा गरिएको हो । २० प्रतिशत साधारण सेयरधनी रहेको संस्थाको अधिकांश सेयर एनबी समूह सदस्यको नाममा छ । समितिको निर्देशनअनुसार कम्पनीले चुक्तापुँजी २५ करोड रुपियाँ पुर्‍याउनुपर्छ । समितिले कारबाही गरेपछि एनबी इन्स्योरेन्सको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा रोक्का रहेको छ । एनबी समूहले सञ्चालन गरेको नेसनल हाइड्रोपावर र एनबी इन्स्योरेन्स कम्पनी दुवै नेपाल स्टकमा रोक्का रहेका छन् । स्टक एक्सचेन्जका अनुसार पछिल्लोपटक एनबीको सेयर प्रतिकित्ता १ सय ४१ रुपियाँमा कारोबार भएको थियो ।
समितिले बिमाकोष १ करोड ७७ लाख, जगेडाकोष ३ करोड ३६ लाख, असमाप्त जोखिमबापत व्यवस्था ५ करोड ५५ लाख र भुक्तानी हुन बाँकी दाबीबापतको ३ करोड ७२ लाख रुपियाँ कम्पनीले जम्मा गर्न नसकेको भन्दै कारबाही गरेको थियो ।
एयरमार्क गराउनुपर्ने १४ करोड ८५ लाख ६९ हजार रुपियाँमध्ये नपुग ७ करोड ६७ लाख ६४ हजार रुपियाँ एयरमार्क गराउन समितिले निर्देशन दिएको थियो । कम्पनीको सम्पूर्ण दायित्वको पर्याप्त पुन:बिमा व्यवस्था भएको तथा पुन:बिमाशुल्क नियमित भुक्तानी नगरेकोजस्ता अनियमितता कम्पनीमा फेला पारेको थियो । पछिल्लो तथ्यांकअनुसार कम्पनीले ४६ लाख ७० हजार रुपियाँ नाफा कमाएको छ । ७ लाख तीन हजार १ सय रुपियाँ बिमालेख जारी गरेको कम्पनीले अझै पनि दाबी भुक्तानी गर्न बाँकी बिमालेखको संख्या १ लाख ३० हजार रुपियाँ छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: