वित्त कम्पनीको निक्षेप र कर्जामा गिरावट

-बाबुकृष्ण महर्जन

काठमाडौं, २६ साउन ।

समग्र बैकिङ प्रणालीको निक्षेप परिचालन र कर्जा लगानी बढेको अवस्थामा पनि वित्त कम्पनीको निक्षेप र कर्जा परिचालन दुवै घटेको छ ।

नेपाल राष्ट्र बैंकको ११ महिने तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १८ दशमलव २ प्रतिशतले बढी एक खर्ब ४९ अर्ब रुपियाँ थपिएको छ भने १४ दशमलव एक प्रतिशतले कर्जा तथा लगानी वृद्धि भई एक खर्ब २० अर्ब १४ करोड रुपियाँ प्रणालीमा थपिएको छ । तर, वित्त कम्पनीको निक्षेप परिचालन भने गत आर्थिक वर्षको पहिलो ११ महिनामा शून्य दशमलव एक प्रतिशतले घटेको छ भने कर्जा तथा लगानी एक दशमलव सात प्रतिशतले घटेको छ । वित्त कम्पनीले निजी क्षेत्रमा प्रवाहित कर्जा गत आवको ११ महिनाको अवधिमा साढे १० प्रतिशतले घटेको छ । नेपाल वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले विगतमा वित्त कम्पनीहरूको खराब प्रदर्शन एवं संस्थागत सुशासनमा आएका कमीका कारणले राष्ट्र बंैकको कारबाहीमा परेर आफ्नो निक्षेपसमेत भुक्तानी पाउन नसकेका कारण फाइनान्समा अझै निक्षेप बढ्न नसकेको बताए । वित्त कम्पनीको निक्षेप वृद्धि दर घटे पनि तरलताको अवस्था असहज नै नभएको अवस्था रहेको उनले जानकारी दिए ।

तरलताको अभाव हुँदा संस्थागत निक्षेपमा भर परेका बैंक तथा वित्तीय संस्था संकटमा परेका थिए । सर्वसाधारणको निक्षेप आधार भएका संस्थालाई तरलताको अभाव हुँदा पनि ठूलो समस्या परेको थिएन । संस्थागत निक्षेपमा केन्द्रित भएका ‘ग’ वर्गका संस्था गत वर्ष बढी समस्यामा परेका थिए । वित्त कम्पनीहरूमा बिमा संस्थान र नागरिक लगानी कोषले संस्थागत निक्षेप राख्न नछोडे पनि राष्ट्र बैंक र सेनाले पनि राख्न छोडेको उनले बताए । विगतमा नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स, सम्झना फाइनान्सलगायत समस्यामा परेका संस्थाले अझै पनि भुक्तानी दिनसकेको छैन । वित्त कम्पनी प्राय: संस्थागत निक्षेपकर्तामा भर पर्ने गर्छन् । चार पाँचवटा वित्त कम्पनीको खराब प्रदर्शनका कारण प्राय: संस्थागत निक्षेपकर्ताले वित्त कम्पनीमा पैसा राख्न नै बन्द गरिसकेका छन् । बिमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोष वित्तीय संस्थाका ठूला संस्थागत निक्षेपकर्ता हुन् । त्यसैगरी, निजी क्षेत्रका कर्पोरेट हाउस पनि वित्त कम्पनीको सम्भावित संस्थागत निक्षेपकर्ता हुन् । राष्ट्र बैंक ऐनअनुसार कुनै पनि वित्तीय संस्था लिक्विडेसनमा जाँदा संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ता पछि मात्र आफ्नो निक्षेप फिर्ता पाउँछन् । ‘संस्थागत निक्षेपकर्ताले पछि मात्र निक्षेप पाउने हँुदा खराब वित्तीय प्रदर्शन गर्ने संस्थामा निक्षेप राख्न हच्किएका हुन्,’ उनले भने ।

लिक्विडेसनमा गएको सम्झना फाइनान्स र संकटग्रस्त घोषणा गरिएको नेपाल सेयर मार्केट्सबाट अझैसम्म पनि संस्थागत निक्षेपकर्ताले पैसा फिर्ता पाउन नसकेकाले संस्थागत निक्षेपकर्ता कम हुँदा वित्त कम्पनीको निक्षेप वृद्धिदर घटेको उनको अनुमान छ । अध्यक्ष शाक्यका अनुसार प्राय: संस्थागत निक्षेपकर्ताले विगतमा पूर्ण रूपमा निक्षेप नवीकरण गरे पनि हाल आंशिक रूपमा नवीकरण गर्ने र प्रायले नवीकरण नै नलिई पैसा फिर्ता लिने गरेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन तीव्र गतिमा जारी रहेकाले नेपालमा रेमिट्यान्स भित्रिने क्रम तीव्र रूपमा बढेको छ । विगत डेढ महिनादेखि एक अमेरिकी डलर बराबर ९० नेपाली रुपियाँको हाराहारीमा कारोबार भइरहेको छ । नेपाली रुपियाँको अवमूल्यन हुँदा रेमिट्यान्समा आश्रित परिवारले बढी नेपाली रकम प्राप्त गर्ने हँुुदा रेमिट्यान्स बढ्ने गरेका कारण बैंकहरूको निक्षेप वृद्धि दर बढेको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: