नेपालीको बैंकिङ पहुँच बढ्दो

बाबुकृष्ण महर्जन
काठमाडौं, ३ साउन
गत आर्थिक वर्ष नेपालीको वित्तीय पहुँचमा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै सर्वसाधारणको घर–आँगनमै बैंक पुग्ने क्रम बढेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०६८/६९ को फागुन मसान्तसम्म वाणिज्य बैंकको एक सय ८९ शाखा थपिएका छन् । अघिल्लो आवभरि वाणिज्य बैंकका एक सय ४५ शाखा थपिएका छन् ।
शाखा विस्तारसँगै बैंकिङ सेवामा सर्वसाधारणको पहुँच बढेको हो । ०६६ असार मसान्तमा एक वाणिज्य बैंक शाखाले ३४ हजार चारसय ३५ लाई बैकिङ सेवा दिइरहेकामा ०६७ असारमा २७ हजार एक सय ८४, ०६८ असार मसान्तसम्म २३ हजार नौ सय ६० र ०६८ फागुनसम्म २० हजार पाँच सयलाई वित्तीय सेवा दिनसक्ने भएको सर्वेक्षणमा उल्लेख छ ।
धेरै व्यक्तिले एउटै शाखाबाट कारोबार सुविधा थालेपछि प्रतिव्यक्ति निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ । वाणिज्य बैंकमा प्रतिव्यक्ति निक्षेप २९ हजार रुपियाँ छ । गत वर्ष यो २५ हजार पाँच सय थियो । निक्षेपसँगै कर्जा पनि बढेको छ । प्रतिव्यक्ति कर्जा पाँच सय ९८ रुपियाँ छ । यो गत वर्ष पाँच सय ४४ रुपियाँ थियो । ०६७ सालमा चार सय ७२ रुपियाँ र ०६६ सालमा चार सय ६ रुपियाँ थियो ।
०६६ असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको शाखा संख्या क्रमश: नौ सय ६६, तीन सय ५८, दुई सय ६५ गरी एक हजार पाँच सय ८९ पुगेको थियो । यसैगरी विकास बैंक, वित्त कम्पनी तथा लघु वित्त संस्थाको शाखा संख्या क्रमश: चार सय ८६, दुई सय ७१ र चार सय २७ पुगेको छ ।
नेपाल राष्ट्र बैंकको सुगममा शाखा खोल्न केन्द्रीय बैंकले तोकेका दुर्गम जिल्लामा दुर्गम एक भनी तोकिएका बाहेक काठमाडौंबाहिर थप एक शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउने प्रावधानले पनि बैंकहरूलाई दुर्गममा शाखा खोल्न बाध्य बनाएको हो । केन्द्रीय बैंकले दुर्गममा शाखा खोल्दा ५० लाख रुपियाँ ६ महिनाका लागि निब्र्याजी ऋणसमेत बैंक तथा वित्तीय संस्थालाई दिने नीति लिएको छ ।
बैंकिङ क्षेत्रको दु्रत विकास भइरहे पनि देशका १८ जिल्लामा वाणिज्य बैंकको एउटा मात्रै शाखा छ । बैंकको सबैभन्दा बढी पहुँच मध्यमाञ्चल विकास क्षेत्रमा छ । असार मसान्तसम्म पूर्वाञ्चलमा दुई सय ५०, मध्यमाञ्चलमा आठ सय नौ, पश्चिमाञ्चलमा तीन सय ६३, मध्यपश्चिमाञ्चलमा एक सय पाँच र सुदूरपश्चिमाञ्चलमा ६२ पुगेको छ । यसमध्ये वाणिज्य बैंकको शाखा संख्या यी विकास क्षेत्रमा क्रमश: एक सय ७८, पाँच सय, एक सय ७४, ६६ र ४८ छ ।
०६८ फागुनसम्म वाणिज्य बैंकमा साच सय ७२ अर्ब निक्षेप रहेको छ भने पाँच सय ९८ अर्ब ५० करोड कर्जा गएको छ । ०६८ चैत मसान्तसम्म वाणिज्य बैंकको निक्षेप दुई सय ८० अर्ब २० करोड थियो भने कर्जा पाँच सय ४४ अर्ब २० करोड रुपियाँ मात्र थियो । ०६७ असारमा पाँच सय ६९ अर्ब निक्षेप र चार सय ७२ अर्ब ३० करोड कर्जा रहेको छ । ०६६ असारमा भने बैंकको निक्षेप चार सय ९५ अर्ब ८० करोड यिथो भने कर्जा चार सय ६ अर्ब ७० करोड रुपियाँ थियो ।
गत वर्ष सेयर बजार केही अंकले मात्र बढे पनि बजारका लागि चाहिने अन्य पूर्वाधार जस्तै धितोपत्र निक्षेप प्रणाली, सामूहिक लगानी कोष, संस्थागत लगानीकर्ता, क्रेडिट रेटिङ एजेन्सीजस्ता तत्त्वहरूको कार्यान्वयन हुन लागेको हुँदा बजार बढ्ने अपेक्षा गरिएको छ । गत आवमा कुल १० वटा कम्पनी नेपाल स्टक एक्सचेन्जमा थपिएका छन् । एक वाणिज्य बैंक, सात विकास बैंक र दुई वित्त कम्पनी गरी कुल १० वित्त क्षेत्रका कम्पनी मात्र गत वर्ष थपिए । गत वर्ष वित्त क्षेत्रबाहेक अन्य क्षेत्रबाट नेप्सेमा धितोपत्र थपिने काम भएन । तीन कम्पनी अन्य वित्तीय संस्थामा मर्ज भई सूचीकरण खारेज भएकोले नेप्सेमा सूचीकृत कम्पनीको संख्या दुई सय १६ पुगेको छ । गत वर्ष सूचीकृत कम्पनीको संख्या २०९ थियो ।
कम्पनी थपिएअनुसार कुल कारोबारमा पनि गत वर्ष वृद्धि भएका छन् । आर्थिक वर्ष ०६७/६८ मा ६ अर्ब ६७ करोड बराबरको कारोबार भएकामा आव ०६८/६९ मा १० अर्ब २७ करोड रुपियाँको कारोबार भयो । कारोबार रकम आव ०६७/६८ को तुलनामा ५४ दशमलव १२ प्रतिशतले बढे भने पछिल्लो समयमा कारोबार रकम केही बढेका कारण औसत दैनिक कारोबार पनि चार करोड ४३ लाख रुपियाँ कायम रहन पुगेको छ । अघिल्लो वर्ष दैनिक औसत कारोबार दुई करोड ८९ लाख रुपियाँ रहेका थियो ।
यसैगरी बजार पुँजीकरण गत आवको अन्तमा तीन खर्ब २३ अर्ब रहेकामा यस आवमा तीन खर्ब ६८ अर्ब कायम भएको छ ।
आवको अन्तमा कायम बजार पँुजीकरण कुल गार्हस्थ उत्पादनको २३ दशमलव ६४ प्रतिशत हुन आउँछ । गत वर्ष सोही अवधिमा सो प्रतिशत १९ दशमलव ४८ प्रतिशत रहेको थियो ।

Leave a comment