प्रदूषण कम गर्ने प्रविधितिर इँटा उत्पादक

-बाबुकृष्ण महर्जन
धार्के (धादिङ), ११ असार
नेपाली इँटा उद्योगीहरू विस्तारै प्रदूषण कम गर्ने प्रविधितिर आकर्षित हुन थालेका छन् । परम्परागत चिम्नी भट्टा प्रविधिबाट विस्तारै उद्यागीहरू भर्टिकल साफ्ट ब्रिक क्लिन (भिएसबिके) प्रविधिमा आकर्षित भएको उद्योगीले बताए ।
नेपालको सहरी एवं अर्धसहरी इलाकामा इँटा एवं निर्माण सामग्री उत्पादनको क्षेत्रमा भइरहेको ऊर्जा खपत तथा कार्बनडाइअक्साइड उत्सर्जनलाई न्यूनीकरण गर्न भिएसबिके प्रविधिलाई नेपालमा भित्र्याइएको दिगो निर्माणको अभ्यास (एससिपी) नामक परियोजनाका भिएसबिके संयोजक प्रवीण क्षेत्रीले बताए । डिम्यान नामक अन्तर्राष्ट्रिय गैरसहकारी संस्था मुख्य साझेदार एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थानीय साझेदार तथा स्क्याट फाउन्डेसन प्राविधिक साझेदार रहेको सो परियोजनालाई स्विच एसिया कार्यक्रमअन्तर्गत युरोपियन युनियनले आर्थिक सहयोग गरिरहेको छ ।
विगत दुई दशकदेखि चिम्नी प्रविधिको इँटा उत्पादनमा सक्रिय रहेका सुयस श्रेष्ठले विगत तीन वर्षदेखि भिएसबिके प्रविधिमा आधारित रहेर इँटा उत्पादन गरिरहका छन् । यति टायल एन्ड ब्रिक इन्डस्ट्रिजका प्रबन्ध निर्देशक श्रेष्ठले एससिपीको प्राविधिक सहयोगमा भिएसबिके प्रविधिमा आधारित रहेर इँटा उत्पादन गर्न थालेको बताए । श्रेष्ठले धादिङको थाक्रे गाविसमा ८० रोपनी जग्गा खरिद गरेर करिब १० करोड रुपियाँको लगानीमा सो उद्योग स्थापना गरेका छन् ।
परम्परागत रूपमा उत्पादन गरिएका इँटाभन्दा भिएसबिके प्रविधि प्रयोग गरेर इँटा उत्पादन गर्दा ८० प्रतिशतसम्म प्रदूषण कम हुने हुँदा जंगलबाट दूरी तय गरेर उद्योग स्थापना गर्नुपर्ने प्रावधान यस्ता उद्योगलाई नरहेको भिएसबिके संयोजक क्षेत्रीले बताए । परम्परागत प्रविधिबाट उत्पादित इँटा उत्पादन वर्षात्को समयमा गर्न नसकिने भए पनि भिएसबिके प्रविधिबाट बार्‍है महिना इँटा उत्पादन गर्न सकिन्छ । कोइला पनि परम्परागत प्रविधिको तुलनामा ३० देखि ४० प्रतिशत मात्र खपत हुने गरेको छ भने धुवाँ र धुलो कम निस्किन हुँदा यो प्रविधि कामदार मैत्री रहेको संयोजक क्षेत्रीले बताए ।
इँटा पकाउनका लागि जोखेर मात्र कोइला राखिने हुँदा कही पाक्ने कही नपाक्ने जस्तो समस्या भिएसबिके प्रविधिमा नरहेको यति टाइलका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए । ‘निश्चित समयमा इँटा राख्ने र झिक्ने गर्नुपर्छ । प्रयोग गर्ने कोइला पनि जोखेर मात्र राख्नुपर्छ । यसबाट चिम्नी प्रविधिबाट उत्पादित इँटाजस्तो बांगोटिंगो इँटा यस प्रविधिमा उत्पादन हुँदैन,’ उनले भने । भिएसबिकेबाट उत्पादित इँटा उद्योग प्रांगणमा प्रतिइँटा ९ रुपियाँसम्म पर्ने उनले बताए । यसमा ढुवानी भाडासमेत जोड्दा बजारमा दूरी हेरेर १२ रुपियाँसम्म पर्ने गरेको बताए । चिम्नीबाट उत्पादित इँटा सस्तो भए पनि भारवहन क्षमता भने कम रहेको उनले दाबी गरे ।
सम्पूर्ण रूपमा मानवीय शक्ति प्रयोग गरेर बनाइएको इँटाभन्दा सम्पूर्ण रूपमा मेसिन प्रयोग गरेर बनाइएका इँटाहरू केही महँगो भए पनि बलियो हुने उनले बताए । इन्जिनियरिङ अध्ययन संस्थानमा भारवहन क्षमता परीक्षण गर्दा भिएसबिके इँटाको १७० केजी प्रतिसेमी प्रतिवर्ग इन्च पाइएको उनले बताए । एउटै साइजमा इँटा उत्पादन हुने हुँदा यस्ता इँटाको प्रयोगबाट सिमेन्टको प्रयोगमा समेत कमी आउने उनको अनुभव रहेको छ ।
यति ब्रिक्ससँग प्रतिघन्टा १४ हजार इँटा उत्पादन गर्न सक्ने क्षमता रहे पनि आवश्यक प्राविधिक जनशक्तिको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको उनले बताए । तुलनात्मक रूपमा कम मात्र कोइला खपत हुने उद्योग हुनाले आर्थिक वृद्धिमा यस्ता प्रविधिका उद्योगले टेवा दिने उनको विचार छ । एससिपी आयोजनाको सहयोगमा तीन वर्षअगाडि भिएसबिकेमा आधारित इँटा उद्योग सञ्चालनमा ल्याएका श्रेष्ठले यसअघि चिम्नी भट्टामा नै आधारित रहेर इँटा उद्योग सञ्चालन गरिरहेका थिए । हाल यति ब्रिक्ससहित देशमा २६ इँटा उद्योगले भिएसबिके प्रविधि पछ्याइरहेको छ । त्यस्तै थप ४ वटा भिएसबिकेमा आधारित इँटा उद्योग पर्वत, पाँचथर, महोत्तरी र रूपन्देहीमा सुरु हुने क्रममा रहेको एससिबी आयोजनाका भिएसबिके संयोजक क्षेत्रीले बताए । आयोजनाको १ वर्षमा १० वटा उद्योगलाई भिएसबिकेसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: