‘उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ’

तत्कालीन नेपाल ग्रिनलेज बैंक (हाल स्टयान्डर्ड चार्टर्ड बैंक) बाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उपेन्द्र पौडेल हाल नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष छन् । बैंकिङ सेवामा प्रवेश गर्नुअघि उनले सोल्टी होटलमा काम गरेका थिए । वित्तीय संस्थाबाट स्तरोन्नति भएर बनेको पहिलो वाणिज्य बैंक एनएमबीको प्रमुख कार्यकारी अधिकृत पौडेलसाग सौर्य दैनिकका बाबुकृष्ण महर्जनले गरेको कुराकानी :

उपेन्द्र पौडेल– प्रमुख कार्यकारी अधिकृत एनएमबी बैंक

समग्र बैंकिङ क्षेत्रको अवस्थालाई कसरी हेर्नु हुन्छ  ?
सबभन्दा ठूलो कुरा बैंकिङ क्षेत्रमा व्यावसायिकता विकास भएर गएको छ । बैंकिङ क्षेत्रमा अहिले ग्राहक र बैंक सञ्चालक दुवै पक्षमा बैंकिङ जागरण र सक्षमता बढेको छ । विगत वर्षमा जसरी बंकिङ क्षेत्र तरलताको समस्याबाट गुज्रियो र त्यसबाट हामीले धेरै पाठ पनि सिक्याँ। त्यतिबेला बैंकिङ क्षेत्र धेरै डराएको अवस्थामा थियो ।
राम्रोसँग तरलता समस्याको समाधान नभएको भए अहिले के हुन्थ्यो भन्न गार्‍होस्थिति थियो । तरलताको सवालमा बंकिङ क्षेत्रले सुरक्षित अवतरण गरेको छ । अब अगाडि बढ्दा चाहिँ एकदम संयमित भएर अगाडि बढ्नुपर्ने स्थिति देखिएको छ । बैंकिङ क्षेत्रमा हुनसक्ने खतराबाट भने अझै यो क्षेत्र मुक्त हुन सकेको छैन । बैंकमा सम्पत्ति व्यवस्थापन र दायित्व व्यवस्थापन गरी दुइटा प्रमुख मुद्दा हुने गर्दछन् । नेपाली बैंकिङ परम्परागत रूपमा सम्पत्ति व्यवस्थापनमा मात्र बढी झुकाव राख्थ्यो । दायित्व व्यवस्थापनमा चाहिँ खासै ध्यान गएको थिएन । यही कारणले विगत दुई वर्षमा तरलताको समस्या आयो ।
बैंकिङ क्षेत्रमा अझै समस्या छ भन्नुको अर्थ विगतमा गैरवित्तीय र विशेषगरी अस्थिर राजनीतिका कारण उद्योगधन्दा राम्रोसँग सञ्चालन हुन नसक्दा त्यस क्षेत्रमा गएको ऋणको समस्याले यस्तो स्थिति आउन गयो । विगतमा अर्थतन्त्रको वृद्धि चाहिँ सन्तोषजनक नहुने तर बंैकिङ क्षेत्र भने फस्टाइरहने जस्तो हुनै नसक्ने कुरा भयो । यी त एक अर्काका परिपूरक हुन् । यही परिप्रेक्ष्यमा कतिपय क्षेत्रमा भएका लगानीको सुरक्षामा भने चिन्ता गर्नुपर्ने स्थिति अझै विद्यमान छ । उदाहरणका लागि भन्नुपर्दा रियलस्टेट क्षेत्रमा गएको लगानीको अझै समस्या छ र यसबाट बैंकिङ क्षेत्रले पार पाइसकेको छैन ।
विगत दुई वर्षका तुलनामा भन्दा अहिले दायित्व व्यवस्थापन धेरै हदसम्म सहज भइसकेको छ । सम्पत्ति व्यवस्थापनमा अझै पनि समस्या छ । कर्जा लगानीको व्यवस्थापन र तरलता कोषको व्यवस्थापन राम्रोसँग हुन सकेको छैन । बैंकको कोष मुख्यतया सेयरधनीको पैसा र निक्षेपकर्ताको रकम संकलन गरेर जम्मा हुन्छ । त्यसमध्ये ८० प्रतिशत मात्र ऋण लगानी गर्न पाइन्छ । सिडी रेसियो ८० प्रतिशत हुँदा त्योभन्दा मुनि नै बसेर बैंक सञ्चालन गर्नुपर्ने हुन्छ । २० प्रतिशत अंश मात्र लगानी गर्ने हो ।
रियल स्टेटमा गएको कर्जा उठ्न सकेको छैन, यसको उचित समाधान तपाईंले के देख्नुभएको छ ?
रियल स्टेटका ऋणसमस्याको समाधान भिन्न तहमा भिन्न हुन सक्छ । तत्कालको समाधान भनेको रियल स्टेटको कारोबारलाई अझै तीव्र पार्नु नै हो । कारोबारलाई तीव्र पार्नको लागि रियल स्टेट डेभलपरले पनि केही कम मूल्यमा आफ्नो जग्गाजमिन बेच्न तयार हुनुपर्छ भने बंैकिङ क्षेत्रले पनि यस क्षेत्रमा गएको कर्जामा अलिक कम ब्याज लिन तयार हुनुपर्छ ।
मेरो विचारमा काठमाडौंमा जति पनि रियल स्टेट बनिरहेका छन्, त्यसको माग प्रशस्तै छ । माग हुँदाहुँदै पनि अत्यधिक बैंक ब्याजका कारण तिनले धान्न सक्ने अवस्था नदेखेर किन्न आँट गरिरहेका छैनन् । बजारले एउटा के पाठ सिकिसकेको छ भने कुनै पनि बेला ब्याजदर भन्ने कुरा माथि जान सक्छ । अहिले घटेको ब्याजदर भोलि बढ्दैन भनेर विश्वस्त हुन सक्ने आधार छैन । देशमा व्याप्त राजनीतिक अस्थिरताका कारण मानिसको आत्मविश्वास बढ्न सकेको छैन । अर्को मनोविज्ञान के पनि छ भने घरजग्गाको भाउ अझै घट्छ भन्ने मानिसमा परेको छ । त्यसैले पनि मानिसहरूले जग्गाको किनबेच नगरी ‘पर्ख र हेर’को स्थितिमा बसिरहेका छन् । यस्तो अवस्थामा बैंकहरूले पनि आफ्नो ब्याजदर अलिकति घटाइदिने र डेभलपरले पनि आफूलाई चलायमान बनाउनका लागि थोरै मात्र नाफा खाएर रियल स्टेट क्षेत्रलाई चलायनमान बनाउनु जरुरी छ ।
सेयर बजारलाई कसरी हेरिरहनुभएको छ ?
अहिलेको सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्य एकदम कम छ । बजारले जुन किसिमको प्रतिफल दिइरहेको छ, त्यो प्रतिफलका आधारमा देशको अर्थतन्त्र स्थिर हुने हो र राजनीति स्थिर हुने हो भने अहिलेको तहभन्दा धेरै माथि सेयर मूल्य पुग्ने देखिन्छ । त्यस हिसाबले बजारले राजनीतिक स्थायित्व हुने केही संकेत पाउनेबित्तिकै माथि जानुलाई आधारहीन तवरले माथि गएको चाहिँ म भन्दिनँ । लगानीकर्ताको आत्मविश्वास बढेर नै बजार माथि गएको हो र यो जानु पनि पर्छ । जुन तहमा नेपालको सेयर बजार पुग्यो, त्यही तहमा धेरै बस्न सक्ने स्थिति पनि थिएन । अहिले सकारात्मक सन्देश मात्र आउँदा त बजारले यस्तो सकारात्मक प्रतिक्रिया दिन्छ भने भोलि गएर साच्चिकै संविधान बन्यो र असहमतिमा रहेका मुद्दामा सहमति कायम भयो भने बजार कति माथि पुग्ला भन्ने कुरा तपार्इं/हामीले सहजै अनुमान लगाउन सकिने कुरा हो ।
राष्ट्र बैंकको निर्देशित लगानी नीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ  ?
बजार अर्थतन्त्रमा विश्वास गर्ने बैंकिङ क्षेत्रका व्यक्तिका नाताले हामीले उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्छ भनेर त भनिरहेका छौँ । उत्पादनशील क्षेत्रमा लगानी भएन भने गुणात्मक असर देख्न सकिंदैन । उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेमा कुनै किसिमको विवाद छैन ।
बैंकिङ क्षेत्रले जहाँजहाँ सम्भावना छन् तिनको पहिचान गरेर लगानी गर्दै आइरहेको छ । कार्पेट, तयारी पोसाक, पर्यटन क्षेत्रआदि बंैकिङ क्षेत्रले लगानी गर्दै आएकै हो । द्वन्द्व सुरु भएपछि पर्यटन क्षेत्रमा लगानी ठप्पै बन्द भयो । सन् २००० पछि विशेष गरी जलस्रोत क्षेत्रमा बैंकिङ क्षेत्रले आफ्नो क्षमताअनुसार लगानी गर्दै आएको छ ।
जनताको निक्षेप लिएर सुरक्षित प्रतिफल आउने ठाउँमा नै बैंकले लगानी गर्न खोज्छ । यसमा राष्ट्र बैंकले जाऔँ भनिरहनै पर्दैन । तर जे भने पनि निर्देशित ऋण लगानीको पक्षमा भने बैंकरर्सहरू छैनन् । बैंकले जुन क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ, त्यसै क्षेत्रमा लगानी गर्छ । विगतमा पनि सबै बैंकले कार्पेट क्षेत्रमा लगानी गरेका थिएनन् नि । जुन बैंकले राम्रोसँग त्यसको जोखिम बुझेका छन् तिनले मात्र लगानी गरेका थिए ।
निश्चय पनि कृषि प्रधान देश भएका हिसाबले बैंकले कृषि क्षेत्रमा लगानी गर्नुपर्छ । तर, सिंचाइ, उन्नत बिउवीजनलगायतको उचित प्रबन्ध सरकारी क्षेत्रले गरिदिनुपर्छ । कृषकमा व्यावसायिकताको विकास गराउन उचित पहल गर्नुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: