बाबुकृष्ण महर्जन
काठमाडौं, ७ फागुन ।
महँगो व्याज तथा घट्दो शेयर मूल्यका कारण वित्तीय संस्थामा धितोमा राखिएका शेयर लिलामीमा आउन थालेका छन् । तर, त्यस्ता शेयरले बजार मूल्यको मुल्य पायन उकिरहेका छ्रैनन् । त्यस्ता शेयरले बजारमूल्यको मूल्य पनि पाउन सकिरहेका छैनन् ।
तीन वर्षदेखि लगातार शेयरको मूल्य घट्दै गएकाले बैंक तथा वित्तीय संस्थाले धितोमा लिएका शेयर शेयरधनीले ननिखनेपछि लिलामी चढ्ने क्रम बढ्न थालेको हो । लिलामीका क्रममा कबोल गर्नेहरुले बजारमूल्य भन्दा कम मूल्य कोट गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले पनि कबोलदरमै त्यस्ता शेयर बिक्री गरिरहेका छन् ।
घट्दो बजारका कारण लिलामीमा आएका शेयरहरुमा कम मूल्य राखेर लिलाम बोल्ने क्रम बढेकाले बजार मूल्य भन्दा १०÷१५ प्रतिशतसम्म सस्तोमा शेयर पाउन थालेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष सीताराम थपलियाले बताए । बजार घट्ने क्रममा रहेको बेला लिलामीमा रहेको शेयर सस्तो मूल्यमा पाइने उनको अनुभव छ ।
‘घट्दो शेयर मूल्य र चर्को बैंक व्याज तिर्न नसकेपछि शेयर लिलामीमा आउने क्रम बढेको हो ।’–नेपाल शेयर दलाल संघका अध्यक्ष अन्जनराज पौडेलले भने । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा १५ देखि २० प्रतिशतसम्म व्याज असुल गर्ने गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीहरुले दिने प्रतिफल भने न्यून छ । धितोमा रहेको शेयरले दिने प्रतिफलले ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था रहेको कारोवारवालाको भनाई छ ।
‘मैले लिलामीमा रहेको क्लिन इनर्जी डेभलपमेन्ट बैंकको शेयर बजार मूल्य भन्दा करिब २० रुपियाँ सस्तोमा पाए ।’–नगद लाभांश लिन दरबारमार्गमा आएका प्रदीप पौडेलले सौर्य दैनिकलाई बताए । नेपाल स्टक एक्सचेन्जमा दैनिक एक करोडको हाराहारीमा मात्र कारोबार भइरहेको अहिलेको अवस्थामा केही लगानीकर्ता भने सस्तोमा शेयर पाउने आशामा लिलामीको शेयरतर्फ आकर्षित भइरहेका छन् । लिलामीमा रहेको शेयरको कारोबार एक्सचेन्जमा छुट्टै विन्डो मार्फत हुने हुनाले दैनिक शेयर कारोबारमा समेत असर नगर्ने नेपाल शेयर दलाल संघका अध्यक्ष पौडेलले बताए ।
नबिकेको हकप्रद शेयर लिलामीमा राखेर मात्र बेच्नुपर्ने धितोपत्र बोर्डको प्रावधानले गर्दा पनि शेयर लिलामी बढेको हो । विगतमा हकप्रद शेयरमा लगानीकर्ताहरुको चासो बढी रहे पनि हाल शेयर मूल्य तल रहेका कारण हकप्रद शेयर पूर्ण रुपमा बिक्री हुँदैनन् ।
दुई महिनाको अवधिमा गोर्खा डेभलपमेन्ट बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, किस्ट बैंक, मालिका विकास बैंक, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनडेप डेभलपमेन्ट बैक, प्राइम कमर्सियल बैंक, युनिक फाइनान्सियल इन्स्टिच्युसनलगायत एक दर्जन वित्तीय संस्थाले शेयर लिलामीको सूचना प्रकाशन गरिसकेका छन् ।
बैंक तथा वित्तीय संस्थामा रहेको संस्थापक शेयर बिक्री गर्दा पनि सार्वजनिक सूचना जारी गरेर मात्र बिक्री गर्नुपर्ने प्रावधान रहेको छ । संस्थागत सुशासनको अभाव रहेको भन्दै नेपाल राष्ट्र बैंकले केही बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेपछि बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्ने क्रम समेत बढेको छ ।
Filed under: Share Market | Tagged: Auction share are cheaper than traded share |
Leave a Reply