वाणिज्य बैंकको नाफामा २८ प्रतिशत गिरावट

बाबुकृष्ण महर्जन
काठमाडौं, ६ फागुन ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुको खुद मुनाफामा २८ प्रतिशतले गिरावट आएको छ । शनिबारसम्म २९ वाणिज्य बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको नाफामा गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा करिब २८ प्रतिशतले गिरावट आएको हो ।
घरजग्गामा प्रवाह गरेको कर्जा असुलीमा समस्या आएपछि बैंकहरुको नाफामा गिरावट आएको हो । गत वर्ष वित्तीय क्षेत्रमा देखिएको तरलता समस्याका कारण बैंकहरुले निक्षेपमा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गरेका थिए । चालु आर्थिक वर्षमा तरलता स्थितिमा सुधार आए पनि बैंकको ऋण प्रवाहमा अघिल्लो वर्षको तुलनामा कमी आएकाले पनि बैंकको नाफामा कमी आएको बैंकहरुले बताए ।
बैंकले अघिल्ला वर्षहरुमा घरजग्गा क्षेत्रमा ऋण प्रवाह गरी दु्रत गतिमा नाफा कमाउने गरेका थिए । नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा सीमित मात्रामा मात्र कर्जा प्रवाह गर्न निर्देशन जारी गरेपछि विस्तारै बैंकको नाफामा पनि कमी आउन थालेको हो । तरलता समस्याका कारण निक्षेपकर्ता आकर्षित गर्न निक्षेपमा बढी व्याज दिनुपर्दा निक्षेपको लागत बढ्न गयो । निक्षेपमा लागत वृद्धिसँगै कर्जाको व्याजमा समेत वृद्धि भएका कारण कर्जा प्रवाहमा समस्या भएपछि बैंकको नाफामा कमी आएको तथ्यांकले देखाएको छ ।
घरजग्गा व्यवसायमा आएको मन्दीका कारण व्यवसायीले ऋण तिर्न नसकी खराब कर्जामा परिणत भएपछि सो बापत् कर्जा नोक्सानी व्यवस्थामा अत्यधिक रकम छुट्याउनु परेका कारण पनि बैंकहरुको नाफामा कमी आएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २९ वाणिज्य बैंकहरुले कर्जा नोक्सानी व्यवस्थास्वरुप ४ अर्ब २२ करोड ८५ लाख रुपियाँ छुट्याएका छन् । यो अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा १ अर्ब ७५ करोड ७१ लाख रुपियाँले बढी हो ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको कारोबार गर्न स्वीकृत प्राप्त ३१ बैंकमध्ये सेन्चुरी बैंक र नेपाल बैंकले हालसम्म दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित गरेका छैनन् । वित्तीय विवरण प्रकाशित गरेका २९ वाणिज्य बैंकमध्ये २३ वटा वाणिज्य बैंकको नाफामा अघिल्लो वर्षको दोस्रो त्रैमासिकको तुलनामा नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा खुद नाफामा वृद्धि गर्ने वाणिज्य बैंकहरुमा एभरेष्ट बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, डीसीबीएल बैंक, नेपाल एसबीआई बैंक र माछापुच्छ«े बैंक रहेका छन् ।

नाफाका आधारमा उत्कृष्ट १० बैंक

रु= हजारमा

कृषि विकास बैंक

688,268.00

नबिल बैक

658,662.00

स्ट्यान्डर्ड चार्टर्ड बैंक

555,171.000

राष्ट्रिय वाणिज्य बैंक

553,210.00

एभरेष्ट बैंक

487,028.00

नेपाल इन्भेस्टमेन्ट बैंक

478,742.00

हिमालयन बैंक

339,987.00

बैंक अफ काठमाडौं

270,224.00

नेपाल एसबीआई बैंक

204,701.00

लक्ष्मी बैंक

176,830.00

दोस्रो त्रैमासिकको नाफाका आधारमा सरकारी लगानीमा सञ्चालित कृषि विकास बैंक अग्रस्थानमा रहेका छन् । उक्त बैंकले गत आर्थिक वर्षमा ६८ करोड ८२ लाख ६८ हजार रुपियाँ नाफा गरेको छ । त्यस्तै दोस्रो स्थानमा विदेशी संयुक्त लगानीमा स्थापित नबिल बैंक रहेको छ । उक्त बैंकले चालु आर्थिक वर्षको पौष मसान्तसम्म ६५ करोड ८६ लाख ६२ हजार रुपियाँ नाफा गरेको थियो । त्यस्तै तेस्रो स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५५ करोड ५१ लाख ७१ हजार रुपियाँ, चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंकले ५५ करसोड ३२ लाख १० हजार रुपियाँ र पाँचौ स्थानमा एभरेष्ट बैंकले ४८ करोड ७० लाख २८ हजार रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।
पौष मसान्तसम्म सबैभन्दा बढी किस्ट बैंकको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको पौष मसान्तसम्ममा ८ करोड २६ लाख ६८ हजार रुपियाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २३ लाख ९१ हजार रुपियाँ मात्र खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै कुमारी बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ११ करोड २१ लाख ३२ हजार रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ५१ लाख रुपियाँ मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा तुलनात्मक रुपमा नयाँ बैंकहरुले भने खुद नोक्सान व्यहोरेका छन् । मेगा बैंक, जनता बैंक, सिभिल बैंकले खुद नोक्सान व्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत वर्षदेखि नै कारोबार शुरु गरेको कमर्ज एन्ड ट्रस्ट बैंकले भने १० लाख ९० हजार रुपियाँ खुद मुनाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: