शोधनान्तर स्थिति पौने ३४ अर्बले सकारात्मक

पर्यटन आयमा वृद्धि
रेमिट्यान्स २८ प्रतिशतले वृद्धि
वस्तु निर्यात करिब ७ प्रतिशतले वृद्धि
मूल्य वृद्धि ८ दशमलब ९ प्रतिशतमा सीमित
४३ अर्ब ८३ करोड रुपियाँ राजस्व संकलन

नेपाल समाचारपत्र
काठमाडौं
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशको शोधनान्तर स्थिति (बीओपी) ३३ अर्ब ८९ करोड रुपियाँले सकारात्मक देखिएको छ । देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको संकेत गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको आर्थिक अवस्थामा अमेरिकी डलरमा वृद्धि भएर विप्रेषण आयमा उच्च वृद्धि एवम् सेवा खातामा भएको उल्लेख्य सुधारका कारण बीओपीमा सुधार रहेको देखाएको छ । विशेष गरी पर्यटन आयमा भएको उल्लेख्य वृद्धिका कारण सेवा खाता पनि लामो समय पश्चात वचतमा रहेको छ । बिगत आर्थिक वर्षभरि प्राय ऋणात्मक रहेको शोधनान्तर स्थिति अन्ततिर झिनो रकमले सकारात्मक भएको थियो । शोधनान्तर स्थिति देशमा भित्रिने रकम र देशबाट बाहिरिने रकमको फरक हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा ६ अर्ब ८८ करोडले घाटामा रहेको थियो । विगत दुई वर्ष यतादेखि निरन्तर असन्तुलन अवस्थामा रहेको चालु खाता चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १३ अर्ब ८२ करोडले वचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता २ अर्ब १७ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएका कारण वैदेशिक रोजगारमा गएकाहरुले रेमिट्यान्सको रुपमा नेपालमा रकम भित्र्याउन थालेका कारण रेमिट्यान्स आप्रवाह दरमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २८ दशमलब ३ प्रतिशतले वृद्धि भई ७५ अर्ब ८८ करोड रुपियाँ पुगेको छ ।
नेपालको विदेशी विनिमय सञ्चिित असोज मसान्तसम्ममा ३ खर्ब २५ अर्ब ३ करोड रुपियाँ पुगेको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २४ अर्ब ९० करोडले विदेशी मुद्रा सञ्चिति बढेको छ । अहिलेको सञ्चितिले ९ दशमलब ९ महिनाको वस्तु आयात तथा ८ दशमलब ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी नेपालको निर्यात व्यापार ६ दशमलब ९ प्रतिशतले वृद्धि भई १८ अर्ब ४ करोड रुपियाँ पुगेको छ भने आयात व्यापार ७ दशमलब ८ प्रतिशतले बढेर १ खर्ब २६ करोड रुपियाँ पुगेको छ । सो अवधिमा नेपालले ८ प्रतिशतले व्यापार घाटामा वृद्धि भई ८२ अर्ब २३ करोड रुपियाँ पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ८ दशमलब ९ प्रतिशत रहेको छ । खाद्य पदार्थको मूल्यवृद्धि ९ दशमलब ६ प्रतिशत र गैर खाद्य पदार्थको मूल्यवृद्धि ८ दशमलब २ प्रतिशत रहेको छ । अघिल्लो वर्ष जस्तो खाद्य र गैर खाद्य वस्तुको मूल्यवृद्धिमा धेरै अन्तर यस वर्ष देखिएको छैन । खाद्य वस्तुमध्ये तरकारीको मूल्यवृद्धि सबैभन्दाबढी ४२ दशमलब ५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारी बजेट २ अर्ब ४८ करोड रुपियाँले बचतमा रहेको छ । सो अवधिमा सरकारी खर्चको तुलनामा स्रोत परिचालन उच्च रहेकाले बजेट बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष ३ अर्ब ९४ करोडले पहिलो तीन महिनामा बजेट घाटामा रहेको थियो । पहिलो तीन महिनामा सरकारले ५ दशमलब २ प्रतिशतले खर्च वृद्धि गरी ४७ अर्ब पु¥याएको छ भने राजस्व परिचालनमा १६ दशमलब ७ प्रतिशतले वृद्धि गरी ४३ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । सरकारलाई तीन महिनामा वैदेशिक नगद ऋणबापत् ८९ करोड ६४ लाख र वैदेशिक नगद अनुदानबापत् ५ अर्ब ७१ करोड रुपियाँ सहयोग प्राप्त भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: