सोल्टी होटलको १० लाख २० हजार कित्ता शेयर कारोबार

नेपाल समाचारपत्र
काठमाडौं
सोल्टी होटल लिमिटेडको मंगलबार १० लाख २० हजार १ सय ४४ कित्ताको ब्लक शेयर कारोबार भएको छ । होटलका वैदेशिक संस्थागत लगानीकर्ता ओबराय होटल्स प्रालिको स्वामित्वमा रहेको सो शेयर नेपाली संस्थागत लगानीकर्ता शिवविक्रम लायन्ड एन्ड इन्डस्ट्रिजले खरिद गरेको हो । सो कारोबारमा बिक्रेताको तर्फबाट १३ नम्बरको शेयर दलाल र खरिदकर्ताको तर्फबाट १९ नम्बरको शेयर दलालले कारोबार गरेका थिए ।
खरिदकर्ता र बिक्रेताबीच १४ सेप्टेम्बर २०११ मा भएको शेयर खरिद बिक्री सम्झौता (एसपीए) बमोजिम उद्योग मन्त्रालय अन्तर्गतको उद्योग विभागले सैद्धान्तिक सहमति प्रदान गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रचलित नियम भन्दा बाहिर छुट्टै विन्डोमा र छुट्टै मूल्यमा सो कारोबार सम्पन्न भएको हो । नेप्सेको प्रावधान अनुसार पछिल्लो कारोबार भन्दा १० प्रतिशत तल माथि मात्र कारोबार हुन पाउने व्यवस्था रहे पनि उक्त कारोबारको लागि करिब खरिदकर्ता र बिक्रीकर्ताले तय गरेको मूल्य १ सय ४० रुपियाँमा नै कारोबार सम्पन्न भएको नेप्सेले जनाएको छ । पछिल्लो पटक सोल्टी होटल लिमिटेडको शेयर १ सय ८० रुपियाँमा कारोबार भएको थियो र आगामी कारोबार हुँदा पनि सोही मूल्यलाई नै आधार मानेर कारोबार गरिने नेप्सेले जनाएको छ ।
सो कारोबार गर्नको लागि नेप्सेले मंगलबार ठूला ब्लकको एकमुष्ठ सेयर कारोबारका लागि नेप्से अटोमेटेड ट्रेडिङ प्रणालीमा व्यवस्था भएको अलग्गै विन्डोलाई प्रयोगमा ल्याएको थियो । नेप्सेले जारी गरेको विज्ञप्ति अनुसार ‘धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियम, २०५५’ अनुसार उपरोक्त व्यवस्था गरेको हो । यसका लागि नेप्सेले नियमक निकाय नेपाल धितोपत्र बोर्डको पनि राय लिएको थियो । विनियममा ‘धितोपत्र बजारले मनासिब ठानेमा कुनै धितोपत्रको शुरु कारोबार मूल्य र त्यसपछिको मूल्य परिवर्तनको सीमा तोकि दिन सक्नेछ’ भन्ने उल्लेख भएअनुसार लगानीकर्तालाई सहज निकास दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको नेप्सेले जनाएको छ ।
यस व्यवस्थाअनुसार ठूलो परिमाणको शेयर खरिद बिक्री गर्न चाहने सम्भावित लगानीकर्तालाई बजारमा कायम भएको मूल्य उपयुक्त नहुने अवस्थामा यस्तो बाधा हट्न जाने तथा माग र आपूर्तीका आधारमा शेयरको मूल्य निर्धारण हुने परिपाटी पनि सुचारु हुने एवं कारोबार बढेर जाने विश्वास नेप्सेले लिएको छ । यो व्यवस्थाले खासगरी प्रत्यक्ष वैदेशिक लगानीमार्फत विदेशी लगानीकर्ताबाट लगानी प्रवेश गराउन र प्रचलित नियम कानुनको अधिनमा रही लगानी फिर्ता लैजाने सहज वातावरण निर्माण भई प्रत्यक्ष वैदेशिक लगानी आकर्षित हुने सम्भावना बढेर जाने अपेक्षा गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: