तीन दल सम्झौताले शेयर बजार उकालो

एकैदिन तीनपटक सर्किट ब्रेकर
लगानीमैत्री वातावरण बन्ने लगानीकर्ताको अपेक्षा
बाबुकृष्ण महर्जन, (काठमाडौं), नेपालको शेयर बजारमा बुधबार सर्किट ब्रेकरका साथ उकालो लागेको छ। विगत साढे तीन वर्षअघि बाबुराम भट्टराई अर्थमन्त्री हुँदादेखि नै घट्न शुरु गरेको शेयर बजार संयोगले सोही व्यक्ति प्रधानमन्त्री भएको समयमा एकै दिन तीन पटकको सर्किट ब्रेकरका साथ माथि उक्लिएको हो।

मंगलबार संविधानसभाका तीन प्रमुख दलहरु एकीकृत नेकपा माओवादी नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सातबुँदे शान्ति सम्झौताका कारण देशमा लगानीमैत्री वातावरण बन्ने आशमा शेयर बजार उकालो लागेको हो। बुधबार शेयर बजारमा तीन पटक सर्किट ब्रेकर लागेर १६ दशमलव ६१ बिन्दुले शेयर बजारमा वृद्धि भई ३ सय ४६ दशमलव ८२ बिन्दुमा पुगेको छ। बुधबार कारोबार शुरु भएको ४० मिनेटमा ३ प्रतिशतभन्दा बढीले नेप्से परिसूचक बढेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। करिब १ बजे पुनः शेयरबजार मूल्य बढ्न गई ३० मिनेटका लागि कारोबार नै स्थगित गरिएको थियो। ३० मिनेटपछि बजार खुल्दा पनि बजार वृद्धि हुने क्रम नरोकिएपछि करिब २ बजेतिर दिनभरिका लागि कारोबार नै स्थगित गरिएको थियो। सामान्य कारोबार भएको समयमा नेपाल स्टक एक्सचेन्जमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म ३ घण्टा शेयर कारोबार हुने गर्दछ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अन्जनराज पौडेलले तीन प्रमुख राजनीतिक दलबीच भएको शान्ति सम्झौताले देशमा राजनीतिक स्थिरता आउने आशामा बजारमा सकारात्मक प्रभाव परेको बताउनुभयो। राजनीतिक अस्थिरताका कारण अनिश्चित रहेको बजारमा सम्झौताले उत्साह ल्याएको छ। अन्य आर्थिक क्रियाकलाप नभएको अवस्थामा यो वृद्धि स्थिर रहन्छ भन्ने कुरा भने अझै अनिश्चित छ। -उहाँले भन्नुभयो। बजारमा मजबुत खरिदकर्ता भए बजार अझ बढ्दै जाने नत्र बुधबारको वृद्धि निरन्तर नरहने उहाँको विश्लेषण रहेको छ।

बुधबार ६१ कम्पनीको १ करॊड ४३ लाख ७२ हजार रुपियाँ बराबरका ७२ हजार ७ सय २० कित्ता शेयरको मात्र कारोबार भएको थियो। ६१ कम्पनीमा ५९ कम्पनीको शेयर मूल्य बढेको थियो भने दुई कम्पनीको मात्र शेयर मूल्यमा गिरावट आएको थियो।

शेयर मूल्य अत्यधिक बढ्ने कम्पनीहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंक माछापुच्छ्रे बैंक लुम्बिनी बैंक एभरेस्ट बैंक प्राइम कमर्सियल बैंक एनआईसी बैंक विश्व विकास बैक नबिल बैंक बैंक अफ काठमाडौंलगायतका वाणिज्य बैंकहरु रहेका छन्। त्यस्तै एस डेभलपमेन्ट बैंक एनडेप डेभलपमेन्ट बैंकलगायतका विकास बैंकको शेयर मूल्य पनि करिब १० प्रतिशतको हाराहारीमा माथि चढेको छ। नेपाल इन्भेस्टस्र फोरमका अध्यक्ष सीताराम थपलियाले भन्नुभयो- ँशान्ति प्रकि्रयामा मिलेर जाने सहमति भएका कारण लगानीमैत्री वातावरण बन्ने आशाले लगानीकर्तामा मनोबल बढेकाले शेयर वृद्धि भएको हो।’ एक शेयर दलालका अनुसार बुधबार बजारमा शेयर खरिदकर्ता बढे पनि बिक्रीकर्ता नभएका कारण कम मात्र शेयरको कारोबार भएको बताउनुभयो। अध्यक्ष थपलियाका अनुसार बिक्रीकर्ताको अपेक्षा अझ बढीमा कारोबार होस् भन्ने रहेको हुँदा अझै केही समय शेयर बजार बढ्नेछ।

बुधबार शेयर बजारमा वाणिज्य बैंक समूहको परिसूचकमा २२ दशमलव ९६ अंकले विकास बैंक समूहको परिसूचकमा ३ दशमलव ९७ अंकले जलविद्युत् कम्पनी समूहको परिसूचकमा ९ दशमलव १४ अंक वित्त कम्पनी समूह परिसूचकमा २ दशमलव ०५ अंकले बिमा समूहको परिसूचकमा ५ दशमलव ९७ अंकले र नेपाल टेलिकम समावेश रहेको अन्य कम्पनी समूहको परिसूचकमा १८ दशमलव ७९ अंकले वृद्धि भएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष नीरज गिरी भने नेपालको शेयर बजारमा राजनीतिक हरेक मुख्य घटनाको प्रभाव रहने गरेको बताउँदै तीन राजनीतिक दलको सम्झौताको प्रतिबिम्ब स्वरुप शेयर बजार बढेको बताउनुहुन्छ। संस्थागत लगानीकर्ता नभएको नेपालको शेयर बजारमा रिटेल लगानीकर्ता मात्र रहेको हुँदा भोलिका दिनमा बजार कता जान्छ भन्ने निक्र्यौल गर्न भने गाह्रो रहेको उहाँले बताउनुभयो। एकैचोटि तीन पटक सर्किट ब्रेकर लगाएर बजार बढेकाले लगानीकर्ता बजारमा आउन इच्छुक रहेको देखाएको उहाँको विश्लेषण थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: