बिपा सम्झौताप्रति अधिकांश दल सकारात्मक / माओवादीको ध्वंसात्मक क्रियाकलाप बन्द हुने विश्वास

बाबुकृष्ण महर्जन,लक्ष्मण वियोगी, (काठमाडौं),
नेपाल भारत सम्पन्न ‘द्विपक्षीय लगानी प्रवद्र्धन तथा सुरक्षण (बिपा) सम्झौताप्रति अधिकांश राजनीतिक पार्टीहरु सकारात्मक छन् । नेपालमा विदेशी लगानीको टट्कारो देखिएको अवस्थामा भारतसँग लगानी सम्झौता सकारात्मक रहेको नेताहरुको टिप्पणी छ ।
पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले माओवादी सरकारले विदेशी लगानीको सुरक्षा गर्नु सकारात्मक हो । डा. महतले नेपाल समाचारपत्रसँग भन्नुभयो –नेपालले वहुपक्षीय लगानी सुरक्षण सम्झौता (मिगा) गरिसकेको अवस्थामा यो सम्झौता किन चाहियो ? तैपनि माओवादीले विदेशी लगानीको सुरक्षा दिने सम्झौता स्वागतयोग्य छ । बिपा सन्धी कुनै नौलो नभए पनि माओवादीमा दार्शनिक परिवर्तन आएकोले माओवादीको ध्वासांत्मक क्रियाकलाप कम हुने डा. महतको टिप्पणी छ ।
प्रधानमन्त्रीले सम्झौता गर्नासाथ लगानीको ओइरो आइहाल्ला भन्नु गलत रहेको बताउँदै अर्का पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भन्नुभयो – ‘माओवादी सरकारले विदेशी लगानी ल्याउन सम्झौता गर्नु सकारात्मक हो । नेपालमा अझै पनि अन्य राष्ट्रहरुको तुलनामा लगानीमैत्री वातावरण रहेको डा. लोहनीले बताउनुभयो । हूलदंगा हुनासाथ क्षतिपूर्ति दिनु गलत हो । भारतीय लगानीलाई राष्ट्रिय व्यवहार गर्ने भनिएको छ । यो कुरा सन् १९५० को सन्धीमा पनि रहेको लोहनीको भनाइ छ । नेपालमा लगानीको पहिलो आधार समयमा संविधान बन्नु र स्थिर सरकार बन्नु रहेको उहाँले स्पस्ट पार्नुभयो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सरकारले नै बिपाको मस्यौदा तयार पारिएको टिप्पणी गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पहिलाको बिपा सम्झौताको मस्यौदामा गैर आर्थिक नोक्सान व्यहोर्न सक्दैनौ भनेर हस्ताक्षर नगरेको प्रष्ट पार्नुभयो । ‘पुरानै अवस्थामा कुनै संशोधन नगरीकन हस्ताक्षर भएको छ भने यो नेपालको हितमा छैन ।’×– उहाँले भन्नुभयो ।
भारतसँगको बिपा सम्झौता नौलो नभएको अर्थविद् डा. पुष्पराज कँडेलले बताउनुभयो । ‘सम्झौता भारतीय लगानीलाई मात्र सुरक्षा र क्षतिपूर्ति दिने जस्तो देखिन्छ । उही पार्टीले हडताल र बिद्रोह गर्दै आएको छ । यसमा सुरक्षाको प्रत्याभूति हास्यास्पद हो’ –डा. कँडेलले भन्नुभयो कस्तो र कतिसम्मको लगानीलाई क्षतिपूर्ति दिने भन्ने प्रश्न उठ्छ । उताबाट लगानी ल्याउने यताबाट क्षतिपूर्ति तिर्दै पठाउने हो भने लगानीको अर्थ नहुने उहाँको टिप्पणी छ ।
यसै गरी नेपाल आर्थिक संघका पूर्व अध्यक्ष प्रा. डा. मदनकुमार दाहालले नेपालसँगको बिपा सम्झौतामा लगानीको क्षतिपूर्ति नयाँ कुरा जोडिएको बताउनुभयो । भारतले माथिल्लो कर्णालीमा भएको आक्रमण र पूर्व राजदूतमाथि भएको दुव्र्यवहारको कारणले पनि क्षतिपूर्तिको कुरा उठाएको हुन सक्ने उहाँको थप टिप्पणी छ ।
केही राजनीतिक वृतबाट नकारात्मक टिप्पणी आए पनि बिपा सम्झौताका विषयमा उद्योगी व्यवसायीहरुले सकारात्मक टिप्पणी गरेका छन् । यसै क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले द्विपक्षीय लगानी प्रबद्र्धन तथा संरक्षण सम्झौता (बिपा) राम्रो कुरा भएको बताउनुभयो । लगानीको सुरक्षा नभएसम्म वैदेशिक लगानी आउनेवाला छैन । सरकारले लगानीको सुरक्षा गर्छु भनेको छ, यो राम्रै हो, –पूर्व अध्यक्ष जोशीले भन्नुभयो । बिपामा मुख्यतया लगानीको सुरक्षा गर्ने कुरा राखेको छ, यो सैद्धान्तिक र आधारभूत कुरा भएको उहाँको धारणा छ ।
भारतले हालसम्म ६२ देशसँग बिपा सम्झौता गरेकोमा ५० देशसँग यो सम्झौता कायान्वयनमा ल्याइएको छ । भारतले दक्षिण एसियामा बिपा सम्झौता गरेको नेपाल दोस्रो राष्ट्र हो । यस अघि श्रीलंकासँग यस्तोे सम्झौता भइसकेको छ ।

बिपा सम्झौताका मुख्य बुँदा
– १६ बुँदे बिपा सम्झौतामा युद्ध, आन्तरिक सशस्त्र द्वन्द्व, राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र बिप्लव वा दंगाका कारणले अर्को देशका लगानीकर्ताले नोक्सानी बेहोर्नुपरेमा त्यस्ता लगानीकर्तालाई निजको पुनःस्थापना, हर्जाना र क्षतिपूर्ति दिनुपर्ने ।
– भारतीय लगानीरहेको कुनै उद्योग धन्दामा गैरराजनीतिक कारणबाट घाटा भए नेपाल सरकारले त्यसको क्षतिपूर्ति दिनुपर्नेछ ।
– भारतले अन्य केही युरोपेली देशसँग गरेको सम्झौतामा ‘दंगा’ भन्ने शब्द राखे पनि नेपालको सन्दर्भमा भने युद्ध, सशस्त्र द्वन्द्व र संकटकालसँगै अन्य शब्द पनि जोडिएको छ ।
सम्झौताको धरा ५ मा राष्ट्रियकरण नगरिने, उचित र समन्ययिाक क्षतिपूर्ति दिएर सार्वजनिक प्रयोगका लागि बाहेक अधिग्रहण गर्न नपाइने
– सम्झौताको अवधि १० वर्षको हुनेछ । कुनै पक्षले दाबी विरोध नगरेमा स्वतः नवीकरण हुने ।
– लाभांश, व्याज, रोयल्टी सेवा शुल्क र शेयर बिक्रीबाट भएको आम्दानी र आयोजनामा काम गर्ने नागरिकले गरेको आर्जन फिर्ता लैजान पाउने

Leave a comment