पोहोर साल भन्दा ८ अर्ब बढी नयाँ नोट

बाबुकृष्ण महर्जन
काठमाडौं
दुई वर्ष अघिको दशैंमा भएको नोट अभावको समस्यालाई दोहोरिन नदिन नेपाल राष्ट्र बैंकले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । दुई वर्ष अघि नोट छाप्ने विदेशी कम्पनीले समयमा नोट आपूर्ति नगरिदिँदा बैंक तथा वित्तीय संस्थामा नोटको चरम अभावको सिर्जना भएको थियो ।
यस वर्ष नजिकिदै आएको दशैंलार्ई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर सबै स्थानमा पर्याप्त नोट बाँड्ने प्रबन्ध मिलाएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘गत वर्षको दशैमा करिब २२ अर्ब रुपियाँको नयाँ नोट बाँडिएको थियो । यस वर्षको दशैमा नोटको मागमा करिब ३० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरी ३० अर्ब नयाँ नोट बाँड्ने योजना बनाएका छौं ।’
नेपाल राष्ट्र बैंकले उपत्यका बाहिरको लागि माग हुन सक्ने आवश्यक नोट बाहिर पठाइसकेको छ । उपत्यका बाहिर नेपाल राष्ट्र बैंकका शाखाहरु मार्फत नोट वितरणगरिने जनाएको छ । बैंक तथा वित्तीय सस्थालाई पनि पर्याप्त मात्रामा नोटहरु बाँडिएको छ । दुई वर्ष अघि बैंक तथा वित्तीय संस्थाले जनसाधारणले मागे अनुसार नोटको आपूर्ति गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने क्रम घटेको थियो ।
उपत्यका भित्र सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमार्फत नयाँ नोट बाँड्ने भएको छ । राष्ट्र बैंकबाट नै नयाँ नोट लिन चाहने जनसाधारणलाई ध्यानमा राखेर बैंकले नोट व्यवस्थापन विभाग थापाथलीबाट सर्वसाधारणलाई नयाँ नोट साट्न सक्ने व्यवस्था गरेको छ । ‘असोज २ गतेबाट थापाथलीमा ३ वटा काउन्टर सञ्चालन गरेर नोट साट्ने व्यवस्था मिलाइएको छ ।’–केन्द्रीय बैंक प्रवक्ता ज्ञवालीले भन्नुभयो । भिड बढ्दै गएमा अन्य अतिरिक्त काउन्टरको समेत व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनुभयो । ज्ञवालीका अनुसार राष्ट्र बैंकले सर्वसाधारणले मागे जति नै ५, १०, २०, २५, ५० र १ सय दरका नोटहरु उपलब्ध गराउने जानकारी दिनुभयो ।
राष्ट्र बैंकले ‘सफा नोट नीति’ अन्तर्गत नोटलाई जतन गरेर मात्र प्रयोग गर्न सर्वसाधारणमा अनुरोध समेत गरेको छ । नेपालमा चलनचल्तीमा रहेको नोट विदेशमा छापिने हुँदा नोट झुत्रो हुने दरलाई कम गर्न सके मितव्ययी हुने राष्ट्र बैंकको ठहर छ । तसर्थ राष्ट्र बैंकले नोटलाई अनावश्यक रुपमा पट्याउने, खुम्च्याउने, पानीमा भिजाउने, टिका लगाउने कार्य नगरिदिन समेत अनुरोध गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: