भुकम्पीय जोखिम र निर्माण सामग्री

नेपाल समाचारपत्र
काठमाडौं
जिओ हाजार्ड इन्टरनेसनलले सन् २००१ मा गरेको अध्ययन अनुसार भुकम्पीय दृष्टिले अति जोखिमयुक्त विश्वका २० शहरमध्ये नेपालको काठमाडौंलाई पहिलो नम्बरमा रहेको देखाएको छ । तत्कालीन अध्ययनअनुसार १० लाख जनसंख्या रहेको काठमाडौंमा करिब ६९ हजार मानिस मर्ने अनुमान गरिएको छ । तत्कालीन समयमा गरिएको काठमाडौंको जनसंख्या अहिले चार गुणा भन्दा बढी भइसकेको छ जसअनुसार अहिले भुकम्प आएको खण्डमा करिब पौने तीन लाख मानिसले ज्यान गुमाउनु पर्नेछ । जिओ हाजार्डको अध्ययनमा टर्कीको इस्तानबुल दोस्रो नम्बरमा, भारतको नयाँ दिल्ली तेस्रो एवम् पाकिस्तानको रावलपिण्डी र इस्लामावादलाई छैठौं जोखिमयुक्त शहरको रुपमा व्याख्या गरेको छ ।
भुकम्पीय जोखिमलाई ध्यानमा राखेर विकसित देशहरुले भवन निर्माण आचारसंहितालाई एकदम कडाईका साथ लागू गरिरहेका छन् । आचारसंहितामा निर्माणको लागि प्रयोग हुने डण्डीको गुणस्तर, सिमेन्टलगायत अन्य निर्माण सामग्रीको न्यूनतम गुणस्तर कायम नगरी घर, अपार्टमेन्ट बनाउँनै नपाइने नियम छ ।
नेपालको काठमाडौं लगायत ठूला शहरहरुमा पनि विगत १ दशकयता ठूला ठूला अपार्टमेन्ट घरहरु निर्माण गर्ने क्रम बढेको छ । बहुतल्लाका घरहरु बनाउने क्रम शुरु भए पनि त्यस्ता बहुतलीय घरहरु बनाउँदा के कस्ता आचारसंहिताको अनिवार्य पालन गर्नुपर्दछ भन्ने स्पष्ट नियमको भने अभाव रहेको छ । बहुतलीय विद्युतीय खराबी हुँदा त्यसको आकस्मिक बचाउ कसरी गर्ने भन्ने जस्ता सवालमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
काठमाडौंजस्तो उच्च भुकम्पीय जोखिम रहेको स्थानमा निर्माण सामाग्रीहरुको गुणस्तरीयता पनि अनिवार्य रुपमा तोक्नु जरुरी छ । कुनै पनि घर अपार्टमेन्ट बनाउँदा निर्माण सामाग्रीहरुमा सिमेन्ट र फलामे डण्डीको गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्दछ । फलामे डण्डी व्यवसायमा आवद्ध प्राविधिकहरुका अनुसार नेपालमा उत्पादन हुने डण्डीको गुणस्तर अन्तर्राष्ट्रिय गुणस्तरको तुलनामा न्युन रहेको छ । नेपालका धेरैजसो डण्डी उत्पादकहरुले सेकेन्डरी बिलेटको प्रयोग गरेर डण्डीको उत्पादन गर्ने गरेका छन् । सेकेन्डरी बिलेट प्राइमरी बिलेटको तुलनामा ५० देखि ६० अमेरिकी डलर सस्तो पर्न जान्छ । नेपालमा डण्डी उत्पादकहरुको अन्तिम उपभोक्तालाई सस्तोमा दिने प्रतिस्पर्धाका कारण सेकेन्डरी बिलेटको अत्यधिक प्रयोग हुन थालेको ती प्राविधिकको ठम्याई छ । प्राइमरी बिलेट र सेकेन्डरी बिलेट भनेको साधारण रुपमा भन्नुपर्दा तेजाबी र छापावाल सुन जस्तै हो । जुन साधारण जनताले सजिलै छुट्याउनै सक्दैनन् ।
नेपालमा डण्डीको गुणस्तर तोक्दा एफइ ५०० को लागि कार्बन ०.३०, सल्फर ०.०५५ र फोस्फोरस ०.०५५ जस्ता रासायनिक सम्मिश्रण हुनुपर्ने व्यवस्था छ । नेपाल गुणस्तर तथा नापतौल विभागले डण्डीको गुणस्तर परिक्षण गरेर ‘एनएस’ चिन्ह प्रदान गर्दा यो सम्मिश्रणको परिक्षण गर्ने भनिए पनि डण्डीको स्ट्रेन्थ र इलोङगेसन मात्र हेर्ने गरिएको ती प्राविधिकले बताए । समय समयमा नेपाल गुणस्तरले विभिन्न उत्पादकहरुको डण्डीको मेकानिकल टेस्ट गर्ने गर्दछ तर केमिकल टेस्ट गरेको पनि थाहा छैन । सो अनुसार सचेत गराएको पनि थाहा छैन ।
सल्फर र फोस्फोरसको मिश्रण डण्डीको ०.१०५ भन्दा बढी भएमा डण्डी कडा भई पटक्क भाँचिने सम्भावना बढी रहन्छ । प्राइमरी बिलेटमा फोस्फोरस र सल्फरको मात्र कम रहेको हुन्छ भने सेकेन्डरी बिलेट प्रयोग गरेर बनाइएको डण्डीमा यी तत्वहरु निर्मूल पार्न नसकिने हुँदा यस्तो बिलेटबाट बनेको डण्डी कमसल एवम् कम गुणस्तरको हुन्छ ।
विभिन्न उद्योगहरुमा प्राविधिक काम गरेर अनुभव बटुलिसक्नुभएका इन्जिनियर आनन्द नेपाल प्राइमरी बिलेटको मूल्य सेकेन्डरीको तुलनामा महंगो हुने बताउनुहुन्छ । प्राइमरी बिलेटमा सल्फर र फोस्फोरसको मात्रा कम हुने हुँदा यस्तो बिलेट प्रयोग हुने डण्डी अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय मानिन्छ । साथै संसारका कुनै पनि गुणस्तरीय मापदण्डहरुमा त्यसको मात्रालाई न्यून भन्दा न्यून स्तरमा राख्ने भनेर तोकिएको छ । सेकेन्डरी बिलेटमा सल्फर र फोस्फोरसजस्ता अपवित्रता निर्मूल पार्न कठिन हुने उहाँ बताउनुहुन्छ । सेकेन्डरी बिलेटमा रहेको सल्फर र फोस्फोरस निर्मूल पार्दा लाग्ने लागत जोडदा प्राइमरी बिलेटकै मूल्य पर्न आउने इन्जिनियर नेपालले बताउनुभयो ।
नेपालमा विगत एक दुई वर्षयता धेरैजसो डण्डी उत्पादकहरुले सेकेन्डरी बिलेटको प्रयोगलाई बढावा दिएको जानकारहरु बताउँछन् । डण्डीको उत्पादन लामो समयको लागि हुने र यसबाट हुने क्षति सबैले भोग्नुपर्ने हुँदा डण्डी निर्माताहरु पनि यस मामलामा चनाखो हुनु जरुरी छ । यो भन्दा अझै बढी प्रयोगकर्ता आफै चनाखो हुनुपर्ने देखिन्छ । अहिले जनमानसमा सबै फलाम एउटै हो भन्ने भ्रमले गर्दा पनि उत्पादकहरुलाई गं्राहकहरुमा भ्रम सिर्जना गर्न सजिलो भएको छ । कमसल डण्डीको प्रयोगको घर भत्केर लाखौ धनजनको क्षति हुन सक्ने हुँदा सबै जागरुक हुनु जरुरी छ ।
जिओहाजार्डको अध्ययन अनुसार विकसित देशले आफ्नो कुल जीडीपीको २ प्रतिशतसम्म नोक्सानी व्यहोर्नुपर्ने र नेपालजस्तो विकासोन्मुख देशले कुल जीडीपीको १३ प्रतिशतसम्म नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: