अमेरिकाको रेटिङ घटेपछि एसियाको शेयर बजार गिरावट

बाबुकृष्ण महर्जन
काठमाडौं
क्रेडिट रेटिङ एजेन्सी स्ट्यान्डर्ड एन्ड पोर (एस एन्ड पी)ले अमेरिकाको रेटिङलाई एएएबाट एएप्लसमा झारेपछि अर्को विश्व आर्थिक मन्दी हुने डरले एसियाली शेयर बजारमा सोमबार असर गरेको छ । क्रेडिट रेटिङ एजेन्सीले कुनै कम्पनी वा देशकै पनि समग्र जोखिम मूल्यांकन गरेर तह निर्धारण गर्ने गर्दछ । क्रेडिट रेटिङ एजेन्सीले निर्धारण गरेको रेटिङकै आधारमा बैंकहरुले आफ्नो कर्जा जोखिम कति छ भन्ने मूल्यांकन गर्ने गर्दछ । नेपालमा अहिलेसम्म कुनै क्रेडिट रेटिङ एजेन्सी नभए पनि यससम्बन्धी एक कम्पनी स्थापना हुने क्रममा भने रहेको छ ।
अमेरिकी संसदमा राष्ट्र ऋण उठाउने सम्बन्धी विधेयक पारित भएपछि अमेरिकामा पनि जोखिम बढी रहेको मूल्यांकन गरी एस एन्ड पीले अमेरिकाको रेटिङलाई घटाएको हो । अमेरिकाको रेटिङ घटेपछि त्यसको प्रत्यक्ष असर पुँजी बजारमा देखिन थालेको छ । आइतबार युरोप, अमेरिकालगायतको शेयर बजारमा भारी गिरावट आए पनि सोमबार भने त्यहाँको शेयर बजारमा केही सुधार देखिएको छ । सोमबार युरोपेली बजारमा केही सुधार देखिनुमा युरोपियन केन्द्रीय बैंकले इटाली र स्पेनको ऋणपत्र खरिद गरेर राहत दिन खोजेको कारण रहेको अर्थविद् डा. चिरञ्जीवी नेपालले बताउनुभयो । त्यसको ठिक विपरित एसियाको शेयर बजारमा भने भारी गिरावट आएको छ ।
शेयर बजारको गिरावट सँगै लगानीको सुरक्षित क्षेत्रको रुपमा सुनमा लगानीकर्ताहरुले लगानी गर्दा सुनको मूल्य भने आकाशिएको छ । सोमबार सुनको मूल्यले प्रति औन्स १७ सय ८० डलरको रेकर्ड कायम ग¥यो जसअनुसार स्थानीय बजारमा सुनको मूल्य प्रति तोला ४९ हजार ४ सय रुपियँँ कायम भयो । सुनसँगै कच्चा तेलको मूल्यमा पनि वृद्धि भएको छ ।
मन्दीको त्रासले एसियाको प्रमुख शेयर बजार जापानको शेयर बजार मापक निक्कीमा १ दशमलब ३ प्रतिशतले गिरावट आई ८ हजार ९ सय ४४ दशमलब ४४ विन्दुमा पुगेको छ । त्यसैगरी हङकङको हङसेङमा १ हजार १ सय ५९ दशमलब ८७ अंकको गिरावट आई १९ हजार ३ सय ३० दशमलब ७० विन्दुमा पुगेको छ । यो हङकङको विगत दुई वर्षकै सबैभन्दा न्यून विन्दु हो । त्यस्तै चीनको सांघाई स्टक एक्सचेन्जको एसएसई कम्पोजिटमा १ दशमलब ३ प्रतिशतले गिरावट आई ३ हजार ९ सय ३४ विन्दुमा पुगेको छ । थाइल्यान्ड स्टक एक्सचेन्जको सेटमा ३५ दशमलब ६५ विन्दुले गिरावट आई १ हजार ४२ दशमलब ५४ विन्दुमा पुगेको छ ।
त्यसैगरी एसियाको बलियो अर्थतन्त्र मानिएका सिंगापुर, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि सोमबार गिरावट आएको छ ।
नेपालको छिमेकी मुलुक भारतको बम्बई स्टक एक्सचेन्जको सेन्सेक्समा १ सय ३२ दशमलब २७ विन्दुले गिरावट आई १६ हजार ८ सय ५७ विन्दुमा पुगेको छ । त्यस्तै भारतकै नेसनल स्टक एक्सचेन्जको निफ्टी भने ४५ दशमलब ६५ विन्दुले घटै ५ हजार ७२ दशमलब ८५ विन्दुमा पुगेको छ ।
नेपालमा पनि शेयरमा गिरावट
विश्व अर्थतन्त्रसँग प्रत्यक्ष रुपमा नगाँसिएपनि भारतको असर नेपाली बजारमा पर्ने गरेको छ । भारतको शेयर बजारमा गिरावट सँगै नेपालको शेयर बजारमा पनि सोमबार समग्र शेयर मापक नेप्से परिसूचकमा ६ दशमलब ३७ विन्दुले गिरावट आई ३ सय ४५ दशमलब ८२ विन्दुमा पुगेको छ । सोमबार समूहगत रुपमा सबैभन्दा बढी बैकिङ परिसूचकमा २ दशमलब ४४ प्रतिशत अर्थात ७ दशमलब ७७ विन्दुले गिरावट आएको छ । त्यस्तै डेभलपमेन्ट बैंक समूहमा १ दशमलब ६४ विन्दु र जलविद्युत समूहमा १० दशमलब ८४ विन्दुले गिरावट आएको छ । सोमबार सबैभन्दा बढी रिलायवल फाइनान्स लिमिटेडले ९ दशमलब ०३ प्रतिशतले गिरावट आई १ सय ४१ रुपियाँमा कारोबार भयो । त्यस्तै मालिका विकास बैंक, ग्लोबल बैंक लिमिटेड, कास्की फाइनान्स र स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा गुमाउने समूहमा रहे । स्वस्तिक मर्चेन्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटल, सिद्धार्थ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल सोमबार कमाउने कम्पनीहरुमा रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: